चितवनमा तमू ल्होसारको सम्पूर्ण तयारी पुरा

चितवन, १३ पुष । तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषद चितवनले तमू ल्होसारको सम्पूर्ण तयारी सकिएको जनाएको छ । महाबौद्ध गुम्बा तीनखोलेमा बिहीबार पत्रकार सम्मेलन गरेर ल्होसालको सबै तयारी सकिएको जानकारी गराएको हो ।
तमू ल्होसार मूल आयोजक समितिका संयोजक गणेशबहादुर गुरूङका अनुसार यो वर्ष पनि विविध साँस्कृतिक कार्यक्रमको साथमा भव्य कार्यक्रम हुँदैछ । हरेक वर्ष चितवनका गुरूङ मुदायले धुमधामका साथ यो पर्व मनाउँदै आइरहेका छन् । तमू समुदायको लागि यो साँस्कृतिक पर्व मात्रै नभई भाइचाराको सम्बन्ध कायम गराउने महत्वपूर्ण पर्वको रूपमा समेत लिने गरिन्छ । यस वर्ष तमू समुदायले च्या अर्थात् चरा वर्गको बिदाई गरी खि अर्थात् कुकुर वर्गको स्वागत गरि यो पर्व मनाउन लागेको हो । १२ वटा विभिन्न जीवजन्तुको नामबाट वर्ग निर्धारण गरिएको हुन्छ । त्यसैको आधारमा ल्होसार पर्व मनाउने चलन रहिआएको पाइन्छ । हरेक वर्ष पुस १५ गते वर्ष फेरिने हुँदा गुरूङ समुदायले ल्होसार पर्वलाई नयाँ वर्षको रूपमा धुमधामका साथ मनाउँदै आइरहेको छ ।

तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषद् चितवनले बिहीबारबाटै पर्व मनाउन सुरू गरिसकेको छ । बिहीबार बिहान महाबौद्ध गुम्बा परिषरमा सरसफाइ गरेर पर्वको सुरूवात गरिसकेको तमूस्यो ह्युल छोंज धीं चितवनकी अध्यक्ष योगमाया गुसरूङले जानकारी दिइन् । शुक्रबार साँझ नेपाल तमू विद्यार्थी छोंज धींले वृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको उनले जानकारी दिइन् । भव्य रूपमा औपचारिक कार्यक्रम भने पुस १५ गतेकै दिन हुने आयोजकले जनाएको छ । यो वर्षको तमू ल्होसार पर्वलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले उउद्घाटन गर्ने कार्यक्रम रहेको तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषद् चितवनका अध्यक्षसमेत रहेका तमू ल्होसार २०७४ मूल समारोह समितिका संयोजक गणेश बहादुर गुरूङले जानकारी दिए । उनका अनुसार १५ गते दिनभर पनि विविध साँस्कृतिक कार्यक्रम हुनेछ ।

 

 

Promise Education Consultancy