अब देखि अर्काको रचना कपि गर्नेलाई दुई वर्ष जेल, अरु के–के छन् व्यवस्था ?

काठमाडौं, १३ पुष । नेपालमा प्रतिलिपि अधिकारको सन्दर्भमा धेरैजसो व्यक्तिहरू सचेत रहेको पाइँदैन । एउटा व्यक्तिले सिर्जना गरेका उत्कृष्ट रचनाको प्रयोग गरेर अनाधिकृत रुपमा आर्थिक लाभ लिने व्यक्तिहरू धेरै छन् । जसले गर्दा वास्तविक रचयिता आफ्नै रचनामाथिको आर्थिक अधिकारबाट वञ्चित भइरहेको हुन्छ । सामान्यतया गीतसङ्गीत र चलचित्रको क्षेत्रमा यसको विषयमा बेलाबेलामा केही घटनाहरू बाहिर आउने गरेको भएता पनि प्रतिलिपि अधिकारको दायरा निकै फराकिलो रहेको कुरा धेरैलाई अवगत छैन ।

के हो प्रतिलिपि अधिकार ?
साहित्य, कला, ज्ञान–विज्ञान र अन्य क्षेत्रमा मौलिक एवम् बौद्धिक रुपले प्रस्तुत गरिएका रचनाको प्रकाशन, प्रशारण, प्रदर्शन, विक्री वितरण, प्रचारप्रसार, पुनरुत्पादन, पुनःप्रयोग लगायतका कार्य गर्ने अधिकार नै प्रतिलिपि अधिकार हो ।

यस्ता किसिमका रचना, सिर्जना वा उत्पादनलाई वास्तविक धनीको अनुमति नलिई आर्थिक लाभ लिने उद्देश्यले अनाधिकृत रुपमा प्रयोग गर्ने कार्यलाई प्रतिलिपि अधिकारको उल्लङ्घन गरिएको मानिन्छ । यस्ता कार्य गर्नेलाई कानुनी कारबाही गर्ने व्यवस्था छ ।

प्रतिलिपि अधिकार धनीको अनुमति बिना कुनै पनि रचना कपि गरी आर्थिक लाभ लिनेलाई न्युनतम दश हजार देखि दुई लाखरुपैयाँ जरिवानादेखि दुई वर्षसम्म जेल सजायको व्यवस्था रहेको छ । प्रतिलिपि अधिकार ऐन २०५९ को परिच्छेद ६ मा यस सम्बन्धी व्यवस्था गरिएको छ ।

कस्ता रचनामा प्रतिलिपि अधिकार रहन्छ ?
प्रतिलिपि अधिकार ऐन २०५९ मा उल्लेख भएअनुसार रचना भन्नाले निम्नलिखित कुराहरू पर्दछन्ः

  • किताब, पर्चा, लेख, शोधपत्र,
  • नाटक, नाट्य–सङ्गीत, मुक चित्र र यस्तै किसिमले मञ्चनका लागि तयार गरिएका रचना,
  • शब्द सहित वा शब्द रहित साङ्गीतिक रचना,
  • श्रव्य दृश्य रचना
  • आर्किटेक्चरल डिजाइन,
  • चित्रकला, पेन्टिङ्ग, मूर्तिकला, काष्ठकला, लिथोग्राफी र आर्किटेक्चर सम्बन्धी अन्य रचना,
  • फोटोजन्य रचना,
  • प्रयोगात्मक कला सम्बन्धी रचना,
  • उद्धरण, मानचित्र, योजना, भूगोल सम्बन्धी त्रि–आयामिक रचना, टोपोग्राफी र वैज्ञानिक लेख रचना
  • कम्प्युटर प्रोग्राम

कस्तो कार्यलाई प्रतिलिपि अधिकार उल्लङ्घन गरेको मानिन्छ ?
प्रतिलिपि अधिकार धनीको आर्थिक अधिकारलाई प्रभाव पार्ने गरी अनधिकृत रुपमा कुनैपनि रचनाको प्रयोग गर्नु नै प्रतिलिपि अधिकार उल्लङ्घन गर्नु हो । प्रतिलिपि अधिकार ऐन २०५९ को मा उल्लेख भए बमोजिम निम्न कार्यहरूलाई प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको मानिन्छः
(क) रचयिता वा प्रतिलिपि अधिकार धनीको अनुमति प्राप्त नगरी वा अनुमति प्राप्त गरेको भए तापनि सम्झौता वा अनुमतिपत्रमा उल्लेख भएको शर्तको उल्लङ्घन गरी आर्थिक लाभ उठाई वा नउठाई व्यापारिक वा अन्य कुनै उद्देश्यले आफ्नो हक नपुग्ने रचना वा ध्वनिअङ्कनको प्रतिलिपिहरू उत्पादन गरी विक्री वितरण वा सार्वजनिक सञ्चार गरेमा वा भाडामा दिएमा ।

(ख) अर्काको रचनाले आर्जित गरेको प्रतिष्ठाको फाइदा उठाउने नियतले त्यस्तो रचनाको अनुकरण गरी विज्ञापन वा प्रचार प्रसार गरेमा ।

(ग) अर्काको रचनाको स्वरुप वा भाषाको माध्यम परिवर्तन गरी आर्थिक लाभ उठाउने उद्देश्यले अर्कै विषय वा प्रकृतिको रचना निर्माण गरेमा ।

(घ) विज्ञापन वा अन्य कुनै माध्यमबाट दर्शक वा श्रोता वा पाठकलाई अर्कै रचना हो भन्ने भान पार्ने नियतले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै कुरा निर्माण वा तयार गरी फाइदा उठाउने प्रयत्न गरेमा ।

(ङ) अनधिकृत पुनरुत्पादन गर्न हतोत्साहित गर्न गरिएको व्यवस्थालाई असफल गराउने ध्येय राखी तयार गरिएको उपकरण वा माध्यमको आयात, उत्पादन वा भाडामा दिने कार्य गरेमा ।

(च) सांकेतिक भाषामा गोप्य रुपमा (इन्क्रिप्ट गरी) प्रसारण गरिएको कार्यक्रमलाई अनधिकृत रुपमा हेर्न मद्दत गर्ने उपकरण विक्री गर्ने उद्देश्यले उत्पादन वा आयात गर्ने काय गरेमा ।

(छ) खण्ड (ङ) र (च) मा उल्लेख भए बाहेक प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने उद्देश्यले मात्र तयार गरिएको यान्त्रिक उपकरण आयात, विक्री, वितरण तथा प्रयोग गरेमा ।

यसका साथै कसैले प्रतिलिपि अधिकार उल्लङ्घन गरी कुनै रचना वा ध्वनिअङ्कन प्रकाशन गरेको कुरा थाहा पाउँदा पाउँदै वा विश्वास गर्ने पर्याप्त कारण हुँदा हुँदै त्यसरी प्रकाशन गरिएका रचनाका प्रतिहरू एवम् ध्वनिअङ्कनका प्रतिहरू विक्री वितरण गर्न वा वहालमा दिन नहुने कुरा ऐनमा उल्लेख छ ।

सजाय के हुन्छ ?
प्रतिलिपि अधिकार ऐन २०५९ मा व्यवस्था भए अनुसार प्रतिलिपि अधिकार उल्लङ्घन गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ र दोस्रो पटकदेखि पटकै पिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।

त्यसरी प्रकाशन वा पुनरुत्पादन गरेको वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुनेछ । संरक्षित अधिकारको उल्लङ्घन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनु पर्नेछ ।