हंस सहकारीद्वारा वृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

 

 

चितवन, १२  पुस  । हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले रत्ननगर सेवाकेन्द्र टाँडीको स्थापना दिवसको अवसरमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

संस्थाले चितवन मेडिकल कलेज चितवनको सहकार्यमा शिविर सञ्चानल गर्न लागेको कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । संस्थाले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसर पारी यस्ता सामाजिक कार्य गर्दै आइरहेको हुँदा यस वर्ष पनि स्वास्थ्य शिविर आयोजना गरेको कार्यक्रमका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले रत्ननगरमा रहेका विपन्न वर्गलाई लक्षित गरी शिविर आयोजना गरिएको र जन समुदायलाई आफ्नो स्वास्थ्यप्रति सजग गराउने लक्ष्य रहेको बताउनु भयो ।

शिविरमा सामान्य स्वास्थ परीक्षण, सामान्य अपरेशन, स्त्री रोग सम्बन्धी सेवा, बाल रोग सम्बन्धी उपचार, हाडजोर्नी तथा नसा सम्बन्धी जाँच, नाक कान घाँटी तथा दन्त रोग सम्बन्धी परीक्षण, छाला रोग सम्बन्धी परीक्षण तथा ईसिजी सेवा उपलब्ध हुने छ ।

साथै शिविरमा उपलब्ध हुन नसकेको सेवा चितवन मेडिकल कलेज भरतपुरबाट विशेष छुटका साथ उपलब्ध हुने अध्यक्ष चुकेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाले यस्ता कार्यक्रमहरु सहरी क्षेत्रका विपन्न वर्गका लागि उपयोगी र फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले  संस्थाले गरेको सकारात्मक कामको प्रशंसा गर्दै यस्ता किसिमका कामलाई आफू लगायत सम्पूर्ण पत्रकारले साथ र सहयोग गर्ने बताउनुभयो ।

यही पुस १४ गते हुने भनिएको शिविर होटल गंगोत्री हाइ वे सौराहा चोक टाँडीमा सञ्चालन हुने छ । साथै सहयोगी संस्थाका रुपमा चितवन मेडिकल कलेज भरतपुर रहेको छ ।

Promise Education Consultancy