चितवनका उम्मेदवारले बुझाएनन् खर्च विवरण, आयोगले भन्यो, ‘समयमै बुझाऊ’

चितवन, १२ पुष । चितवनका प्रतिनिधि तथा प्रदेशसभाका कुनै पनि उम्मेदवारले हालसम्म चुनावी खर्च विवरण बुझाएका छैनन् । निर्वाचनको नतिजा आएको १५ दिन कटिसक्दा पनि चितवनका कुनै उम्मेदवारले खर्च विवरण नबुझाएका निर्वाचन कार्यालय भरतपुरले जनाएको छ ।
मंगलबार सम्म एकजना उम्मेदवारले पनि खर्च विवरण बुझाउन आएका छैनन्’ निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘हामीले समयमै बुझाउन आग्रह गरिरहेका छौँ, तर पनि कुनै उम्मेदवारहरु बुझाउन आएका छैनन् ।’
जुनसुकै दल तथा स्वतन्त्रबाट उम्मेदवार बनेकाहरुले बिल भर्पाइसहित खर्च विवरण आयोगमा बुझाउनुपर्छ । आयोगको निर्देशिकामा चुनावको नतिजा निस्केको ३५ दिनभित्र खर्च विवरण बुझाइसक्नुपर्छ । उम्मेदवारले खर्च विवरण बुझाउने समय अझै केही दिन बाँकी छ, तर पनि खर्च विवरण बुझाउन ढिला गर्दा वास्तविक खर्च विवरण आउनेमा शंका बढी हुने विश्लेषकहरु बताउँछन् ।आजको चितवन पोष्टमा खबर छ।
‘खर्च विवरण बुझाउनको लागि उम्मेदवारहरुले फारम त लगेका छन् तर खर्च विवरण बुझाउन एक जना पनि आएका छैनन्’ सूचना अधिकारी ढकालले भने, ‘करिब ५० वटा खर्च विवरणको फाराम उम्मेदवारहरुले लगेका छन् । हामी खर्च विवरण लिनको लागि पर्खाइमा बसिरहेका छौँ ।’
चितवनका सबै उम्मेदवारले आयोगले तोकेको सीमाभित्र चुनावमा खर्च भएको दाबी गरेका छन् । तर, उम्मेदवारहरुको यस्तो भनाइप्रति धेरै मतदाताहरु विश्वास गर्न सक्दैनन् । आयोगले प्रतिनिधि सदस्य पदका उम्मेदवारहरुलाई अधिकतम चुनावी खर्च २५ लाख र प्रदेशसभाका उम्मेदवारलाई अधिकतम १५ लाखसम्मको सीमा तोकेको छ ।
उम्मेदवारले बुझाएको खर्च विवरणमा कुनै शंका लागे आयोगले छानविन गर्न सक्नेछ । ‘हामीले जिल्लामा केही गर्ने अधिकार छैन, उम्मेदवारले जस्तो खर्च विवरण बुझाउँछन्, हामीले त्यस्तै निर्वाचन आयोगमा पठाउँछौँ । उम्मेदवारको खर्च सूचीमा कुनै शंका लागे आयोगले छानविन गर्छ’ निर्वाचन कार्यालयका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘आयोगले सुक्ष्म अनुगमन पनि गर्छ, त्यसबारेमा हामीलाई जानकारी हुँदैन ।’
स्थानीय तहको चुनाव हेरी यसपटकको चुनावमा उम्मेदवारको खर्च कम भएको अनुमान गरिएको छ, तर पनि खानपान र हिँडडुलमा उम्मेदवारहरुको बढी खर्च भएको देखिन्छ । पोस्टर, पम्पलेट, झण्डा, चिन्ह अंकित टिसर्ट र टोपी लगाउन प्रतिबन्ध भए पनि उम्मेदवारका खर्चका अन्य स्रोतहरु प्रशस्त थिए ।
यसअघि चितवन पोष्टसँगको कुराकानीमा चितवन क्षेत्र नम्बर १ का प्रतिनिधितर्फका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले आफ्नो चुनावी खर्च २४ लाख ९५ हजार खर्च भएको बताएका थिए ।
त्यस्तै चितवन क्षेत्र नम्बर १ का विजयी उम्मेदवार सुरेन्द्र पाण्डेले आफ्नो चुनावी खर्च २०/२२ लाखमात्र भएको बताएका थिए । चितवन क्षेत्र नम्बर २ मा प्रदेशबाट विजयी भएका कृष्णप्रसाद खनालले चुनावमा १२/१३ लाख खर्च भएको बताए ।
चितवन क्षेत्र नम्बर १ को प्रदेश १ बाट विजयी भएका दावादोर्जे लामाले पनि यसअघि चितवन पोष्टसँग चुनावमा जम्मा दुई चारलाख मात्र खर्च भएको दाबी गरेका थिए । क्षेत्र नम्बर ३ को प्रदेशतर्फ विजयी भएका कृष्ण भुर्तेलले पनि आयोगको सीमाभन्दा कम खर्च भएको बताए । चितवन क्षेत्र नम्बर २ को प्रदेशबाट पराजित भएका जितनारायण श्रेष्ठले आफ्नो जम्मा ८/९ लाखमात्र खर्च भएको बताएका थिए । राप्रपा प्रजातान्त्रिकका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले निर्वाचन आयोगले तोकेको सीमा ननाघी आफूले खर्च गरेको बताएका थिए । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनावी खर्च १५ लाख ३० हजार ३०० भएको बताइएको थियो ।
क्षेत्र २ कै प्रदेश २ बाट उम्मेदवार भएका प्रकाश अधिकारीले चितवन पोष्टसँग यस अघि नै आफ्नो जम्मा ५/७ लाखमात्र खर्च भएको बताएका थिए । चितवन क्षेत्र नम्बर २ प्रदेश १ बाट विजयी भएका घनश्याम दाहाल ‘अविनाश’ले आफ्नो खर्च १०/१२ लाख खर्च भएको बताएका थिए ।

Promise Education Consultancy