नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश, प्रचण्डको विज्ञप्ती

काठमाडौँ, ११ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजको युगान्तकारी परिवर्तन भएको उल्लेख गरेका छन् ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितका उपलब्धिको जगमा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक, आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा लाग्नु र प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु क्रान्तिकारीहरुको साझा दायित्व हो ।’

उनले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता भएको बताएका छन् । चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक थिए।

Promise Education Consultancy