क्रिसमसमा चितवनका पर्यटकीय क्षेत्र भरीभराउ

शालिग्राम नेपाल
नारायणगढ, ११ पुस । पर्यटकको लागि अफ सिजन भए पनि क्रिसमस र नयाँ वर्षको अवसर पारेर चितवनका होटलहरु अहिले भरीभराउ भएका छन् ।
नारायणगढ मुग्लिनको सडकमा हुने अवरोधले गर्दा राजधानी र पोखराबाट आउने पर्यटलाई समस्या हुने भए पनि जिल्लामा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । विदेशी पर्यटकको लागि अनुपयुक्त मौसम हुँदा पनि चितवनको सौराहासहितका पर्यटकीय क्षेत्रमा अहिले होटलहरु भरिएको व्यवसायीले बताएका छन् । इसाईहरुको क्रिसमस र लगतै आएको अंग्रेजी नयाँ वर्षको अवसर पारेर रमाइलो गर्नका लागि आउनेहरुको संख्या ह्वात्तै बढेको चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनालीले जानकारी दिए ।
विदेशी चाडपर्वमा पनि नेपालीहरु सहभागी हुने र शुभकामना आदानप्रदान गर्ने भएकाले आन्तरिक पर्यटकको संख्या बढेको छ । चितवनको सौराहा, भरतपुर, नारायणगढ हुँदै मेघौलीसम्मका होटलहरु अहिले भरिभराउ भएको मैनालीले बताए । पर्वलाई केन्द्रित गरेर कार्यक्रमको आयोजनासमेत गरेकाले आउनेहरुको संख्या अझ बढेर गएको उनको भनाइ छ । ‘पहिलापहिलाभन्दा यो साता ५० प्रतिशत पर्यटक बढेको अनुमान गरिएको छ’ मैनालीले भने ‘बिदा मनाउनकै लागि चितवन आउनेहरु धेरै छन् ।’
विदेशीहरुको लागि यो समय अफ सिजन हो । क्रिसमस मनाउनको लागि आफ्नै देश जाने गर्दछन् । उनीहरुको लागि यो बिदाको समय भएकाले आफ्नै देशमा फर्कने गर्दछन् । नेपालमा भएकालाई फर्कनबाट रोक्न र यहीँ रमाइलो वातावरण बनाई बसाइको दिन लम्याउन पनि व्यवसायीले कार्यक्रम आयोजना गर्ने गर्दछन् ।
यसै सन्दर्भ पारेर पर्यटकको बसाइ लम्याउन भन्दै क्षेत्रीय होटल संघ सौराहाले हात्ती महोत्सवको आयोजना गरेको छ । पुस ११ गतेबाट हात्ती महोत्सवको आयोजना गरेको हो । ‘क्रिसमस र नयाँ वर्ष एकै पटक पर्ने भएकाले पर्यटक तान्नलाई नै महोत्सवको आयोजना गरिएको हो’ क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले भने ।
उनले भने, ‘यो एक हप्ताभन्दा लामो समयमा पर्यटकको कमी महसुस गर्ने गरेका थियौं, यस वर्ष पर्यटक बढेका छन् । नयाँ वर्षको लागि अहिले होटलहरु बुकिङ भइसकेका छन् । नेपाली र विदेशी दुवैले बुक गरेका छन् । क्रिसमसकै लागि भनेर ७० प्रतिशत बुकिङ भइसकेका छन् । हात्ती दौड हेर्ने, क्रिसमस र नयाँ वर्ष मनाउने भनेर पर्यटक आएका छन् । अहिले यस्ता कार्यमा नेपालीहरुको संख्या पनि त्यतीकै बढेर गएको छ ।’
त्रिसमस र नयाँ वर्षको अवसर पारेर सौराहामा सांगीतिक कार्यक्रमको आयोजना समेत गरिएको छ । यसले पनि पर्यटकलाई तानेको क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष शंकर सैंजुले बताए । अहिले यहाँका सबै होटलमा ७० प्रतिशत कोठहरु बुक भएका छन् । अफ सिजनमा सामान्य पर्यटक हुने गरेकोमा अहिले वृद्धि भएको उनले बताए । नयाँ वर्षको अघिल्ला दिनको लागि अधिकांस होटलहरु अहिले नै बुक भएका छन् । सामान्य सुविधा भएका होटलमा समेत पर्यटक खचाखच हुने गर्दछन् ।
सौराहासँगै पश्चिम चितनवको पटिहानी, मेघौली क्षेत्रका पर्यटकीय होटलहरुमा पर्यटकको संख्या बढेको पर्यटन विकास समितिले बताएको छ । मेघौलीको सुविधा सम्पन्न मेघौली सेराई रिसोर्टमा पनि नयाँ वर्षको लागि बुक भएको छ । जिल्लाका पर्यटकीय क्षेत्रहरुमा अहिले घुम्नको लागि आउने आन्तरिक पर्यटकको चाप बढेको व्यवसायीहरुले जानकारी दिएका छन् । जिल्लाको उत्तरी खण्डमा रहेको सिराईचुली पहाडमा सूर्योदय हेर्नको लागि केही समूहहरु होमस्टेमा बस्ने गरी गएको पर्यटन विकास समितिका अध्यक्ष मैनालीले बताए ।
जाडोको मौसममा काठमाडांैभन्दा कम चिसो चितवनमा भएकाले राजधानीबाट आन्तरिक पर्यटक चितवन आउनेको संख्या अहिले बढेको उनले बताए । भरतपुरदेखि चितवन राष्ट्रिय निकुञ्जको आसपासका होटलहरु अहिले भरिएका छन् ।