प्रचण्डद्वारा पर्साको ठोरी नाका अवलोकन

चितवन, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकममल दाहालले पर्सा जिल्लाको ठोरी नाकाको अवलोकन निरीक्षण गरेका छन् । आफू प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएपछि माडी र बाँदरझुलाका जनतालाई धन्यवाद ज्ञापन गर्न जाने क्रममा दाहाल ठोरी समेत पुगेका हुन् ।
ठोरी नाकाको अवलोकन पश्चात दाहालले सरकार गठन लगत्तै सो क्षेत्रलाई तीन नं प्रदेशमा गाभ्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । गाँउपालिकाले सर्वसम्मत निर्णय गरेर प्रदेश ३ मा गाभिने बताएकाले कार्यान्वयनका लागि सहज भएको दाहालको भनाइ छ । नाकावन्दीको समयमा अत्याधिक पेट्रोलियम पदार्थ र खाद्यान्न समेत सो नाकावाट भित्रिएको स्मरण गर्दै उक्त नाकालाई विकास गरी ठोरी केरुङ मार्ग छिट्टै निर्माण गरिने दाहालले बताए ।
त्रिदेशीय साझेदारीका लागि यो मार्ग निकै महत्वपूर्ण, छोटो र उत्कृष्ट मार्ग बन्ने दाहालको भनाइ छ । चुनावको विजय जुलुसका लागि एमाले अध्यक्ष केपी ओली रसुवा जाने र आफु चितवन आउने संयोगले ठोरी–केरुङ राजमार्ग बन्ने निश्चित भएको दाहालको दावी छ । पर्सा जिल्लाको सुवर्णपुरमा पर्ने ठोरीका बासिन्दाले आफुहरुलाई चितवन तर्फको भाग पायक पर्ने भएकोले प्रदेश नम्बर ३ मा गाभ्न माग गर्दै आएका छन् ।
सोमबार नै दाहालले चितवनको माडी बाँदरझुलाका बासिन्दालाई पनि धन्यवाद ज्ञापन दिएका छन् । बाँदरझुलामा आयोजित कार्यक्रममा दाहालले अब बन्ने सरकारले पहिलो मन्त्रिपरिषद बैठकबाटै सुकुम्वासी समस्या समाधानको लागि ठोस निर्णय गर्ने बताए ।

Promise Education Consultancy