दुई करोड रुपैयाँको लगानीमा ‘एग्रो रिसोर्ट’ 

आनन्द पोखरेल 
चितवन, १० पुस । भरतपुर १५ फुलबारीमा करिब दुई करोड रुपैयाँको लागतमा ‘एग्रो रिसोर्ट’ सञ्चालनमा आउने भएको छ । भरतपुरका चार जना युवा उद्यमीहरुले फूलबारीमा पर्ने कमल पोखरीमा चितवन फूलबारी एग्रो रिसोर्ट पुस १५ गतेदेखि सञ्चालनमा ल्याउन लागेका हुन् ।
मंगलपुरमा रहेको विश्वप्रकाश माध्यमिक विद्यालयको दुई बिघाहा छ कठ्ठा जग्गा भाडामा लिएर रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको रिसोर्टका प्रबन्ध निर्देशक राजकुमार गुरुङले जानकारी दिए । विभिन्न देशमा घुम्दा त्यहाँको समुन्द्र किनारमा देखेको होटलका दृश्यहरुलाई नेपालमा पनि प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले यहाँ आएर पोखरी माथी कटेज स्थापना गरेको गुरुङको भनाइ छ । होटल स्थापनासँगै यहाँको पर्यटन प्रवद्र्धन हुने तथा एग्रो टुरिजमको समेत विकास हुने गुरुङले बताए ।
रिसोर्ट सञ्चालनमा आउन लागेको जानकारी दिने उद्देश्यले सोमबार गरिएको पत्रकार सम्मेलनमा होटल सञ्चालक मध्येका मिनबहादुर थापाले रिसोर्टमा रहेको पोखरीमा २२ लाख वटा माछाका भुराहरु छोडिएको बताउँदै रिसोर्टमा जाने व्यक्ति आफैले माछा मारेर समेत खान सकिने बताए । रिसोर्ट सञ्चालनको तयारी भइरहेको उल्लेख गर्दै २० वटा होम स्टे समेत निर्माण गर्ने तयारी भएकोमा माघको दोस्रो हप्तासम्म सात वटा होम स्टे सञ्चालनमा ल्याइसक्ने थापाको भनाइ थियो ।
बिवाह, ब्रतबन्ध, जन्म दिन तथा शुभ कार्यको लागि हल सहित क्याटरिङको समेत व्यवस्था गरिएको उल्लेख गर्दै थापाले रिसोर्टको आफ्नै बारीमा उत्पादन भएको खाद्यान्न खुवाइने जानकारी दिए । उक्त रिसोर्टको बजार व्यवस्थापन निर्देशक भेषराज गौतमले रिसोर्टले प्याकेजमा नै पर्यटकहरुलाई घुमाउने बताए । रिसोर्टमा जाने ग्रहाकले डुंगा सयर गर्दै खानपानमा रमाउन सक्ने उल्लेख गर्दै गौतमले रिसोर्टलाई सूचना र प्रविधिमैत्री बनाउनको लागि सुविधानहरु थप गर्दै लैजाने बताए ।

Promise Education Consultancy