व्यापार, कृषि, शिक्षामा उज्ज्वल सहकारीको लगानी

चितवन, पुष १० ।  महिलाहरुको आर्थिक रुपान्तरणका लागि रत्ननगर १ वकुलहर स्थित उज्वल महिला वचत तथा ऋण सहकारी संस्थाले ठुलो लगानी गरेको छ । सहकारीमा आवद्ध महिलाहरुको जीवनयापनमा सहजताका लागि व्यापार,कृषि,शिक्षा र अन्य क्षेत्रमा ऋण प्रवाह गरेको हो ।

उज्वल सहकारीको आज सोमवार आयोजित १७ औं वार्षिक साधारण सभाका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनमा सो सहकारीले व्यापारमा ५६ लाख ६७ हजार,कृषिमा ५५ लाख ८७ हजार,शिक्षामा ५३ लाख ७९ हजार र अन्य घर खर्चमा समेत लगानी गरेको उल्लेख छ ।

लगानी गरेको रकमबाट सहकारीमा आवद्ध महिला सदस्यहरुको जीवनमा परिवर्तन आएको संस्थाकी अध्यक्ष ऋतु गिरीले वताईन् । अध्यक्ष गिरीका अनुसार संस्थाका कुल ७ सय ५० जना सदस्य रहेकोमा ६ सय ५० जनाले ऋण लिएर कुनैन कुनै व्यवसाय तथा शिक्षामा लगानी गरेका छन् ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अध्यक्ष गिरीले वार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक कल्पना गिरीले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सो अवसरमा वोल्दै प्रमुख अतिथी मेयर वनले रत्ननगर सवैको रोजाईको वनाउनका लागि नगरपालिकाले योजनासहित काम अघि वढाउन लागेको भन्दै यसमा साथ दिन सहकारीहरुलाई आग्रह गरे ।

महिलाहरु उद्यमशील वन्नुका साथै आत्मसम्मानका साथ जीवन जीउन सहकारीले ठुलो भुमिका खेलेको मेयर वनले वताए । कार्यक्रममा महिला तथा वालवालिका कार्यालय भरतपुरकी प्रमुख शान्ता पौडेल, नेपाल वचत तथा ऋण केन्द्रिय संघकी संचालक शान्ती अधिकारी , संघका पूर्व संचालक नवराज सापकोटा, रत्ननगर १ का वडासदस्य शालिकराम पराजुली,जनजागृती सहकारीका अध्यक्ष रमाकान्त पौडेल,

वकुलहर माविकी प्रधानाध्यापक कमला ढकाल,सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी गौली,सल्लाहाकार राधा चौधरी,अग्रज सहकारीकी अध्यक्ष लक्ष्मी थापा, सचिव सम्झना घिमिरे,कोषाध्यक्ष गंगा सुवेदी लगायतले मन्तव्य राखेका थिए । साधारण सभाका अवसरमा जेष्ठ शेयर सदस्य सावित्री ढुंगाना र असल ऋणीहरुलाई सम्मान गरिएको थियो ।