बाल अस्पतालनिर्माणको लागि सहयोग गर्न भारत इच्छुक : भारतीय महावाणिज्यदुत प्रधान

शिशिर शिंखडा

चितवन, पुष ।   नेपालका लागि भारतीय महावाणिज्यदुत विसी प्रधानले चितवनको कालिका नगरपालिका क्षेत्रमा बालअस्पताल निर्माण गर्नको लागि आवश्यक सहयोग गर्न आफू र भारत सरकार इच्छुक रहेको बताएका छन् । महावाणिज्यदुत प्रधानले आज (सोमबार) कालिका नगरपालिकाको कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेपालकै मध्यभागमा रहेको यस क्षेत्रमा बालअस्पताल संचालन गर्न सके नेपालका धेरै बालवालिकाले सहज उपचार पाउने बताए ।

महावाणिज्यदुत प्रधानले स्थानीय नगरपालिकाले नेपाल सरकार मार्फत् भारतीय सरकारलाई अस्पताल निर्माण गर्न अनुरोध गरेमा सहयोग गर्न सकिने भन्दै आवश्यक सहयोग र पहलको लागि आफू प्रतिवद्ध रहेको समेत बताए । कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले कालिका नगरपालिकाको वडा नं. ३ मा अस्पताल संचालन गर्न २ बिगाहा जग्गा रहेको भन्दै अस्पतालको लागि थप जमिन आवश्यक परेमा ४ बिगाहा सम्म जग्गा नगरपालिकाले उपलब्ध गराउन सक्ने बताए । नगरपालिकाका अधिकाँश जनता विपन्न र निम्नस्तरका भएकाले यस क्षेत्रका जनताको सहज स्वस्थ्य उपचारका लागि भारत सरकारको सहयोग खोजेको वताए ।

नेपाल–भारत मैत्री बालअस्पताल संचालनको लागि लाग्ने १ अरब ९६ करोडको प्रस्तावपत्र समेत नगर प्रमुख श्रेष्ठले महावाणिज्यदुत प्रधानलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरपालिकाकी उपमेयर कमला भट्टराई, प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, नगरपालिकाका इन्जिनियर सुवास पोखरेल, वडा नं. ३ का वडा अध्यक्ष टिकाराज रिजाल, नगरपालिकाका सूचना अधिकृत बलराम लुइटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो भेटघाट कार्यक्रम पश्चात् महावाणिज्यदुत प्रधानको टोलीले अस्पताल निर्माण गर्न सकिने स्थल कालिका ३ पदमपुरको समेत अवलोकन गरेको थियो । कार्यक्रममा नेपालका लागि भारतीय वाणिज्यदुत राकेश कुमार, रोनिक स्मृति ट्रष्टका प्रमुख डा. जेवी पाठक, नगरका वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

Promise Education Consultancy