इपीएल : विराटनगर शीर्ष स्थानमा रहदै क्वालिफायर्सका लागि छनोट

काठमाडौं १० पौष । विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा लिग चरणका सबै पाँच खेल जित्दै शीर्ष स्थान हात पारेको छ। सोमबार भएको लिग चरणको खेलमा विराटनगरले काठमाडौं किंग्स-११ लाई  ८ रनले पराजित गरेको हो।

विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो।

लिग चरणका पाँच वटै खेलमा जित हात पारेको विराटनगर शीर्ष स्थानमा रहदै क्वालिफायर्सका लागि छनोट भएको छ। विराटनगरले अब फाइनल प्रवेशका लागि लिग चरणमा दोस्रो हुने टोलीसँग खेल्नेछ।

काठमाडौंले लिग चरणमा खेलेका ५ मध्ये १ खेल मात्र जित्दा ४ खेलमा पराजय बेहोरेको छ। चर हारपछि काठमाडौंले २ अंक मात्र जोडको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। हायतले ५० बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए। यस्तै अंशुमन रथले ३२ तथा कप्तान पारस खड्काले २५ रन जोडे।

ओपनर आसिफ शेख दोस्रो ओभरमा शुन्यमा आउट भएका थिए। त्यसपछि अंशुमन र हायतले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा काठमाडौंका सोमपाल कामी र अमरसिंह रौउटेलाले २-२ विकेट लिए।

जवाफमा काठमाडौंले निर्धारित २० ओभमा  ९ विकेट गुमाएर १३९ रन बनायो। काठमाडौंका लागि कप्तान फरविज महारुफले ४२ तथा नरेश ढाएरले ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन।

३७ बल खेलेका महारुफ र ३२ बल खेलेका नरेशले समान ४ चौका प्रहार गरे। बलिङमा विराटनगरका अंशुमन रथले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए।