खिचरा महोत्सवको तयारी तीव्र, जीप सफारी देखि सेल्फी प्रतियोगितासम्म थप

 

राजेन्द्र आचार्य

चितवन, १० पुस । । धर्तीपुत्रका रुपमा परिचित चितवनका थारु समुदायले सञ्चालन गर्ने ‘पाँचौ खिचरा महोत्सव २०७४’ को तयारी तीब्र पारिएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका–५, जबकौली गौचरनमा यहि पुस २८ देखि माघ ८ सम्म संचालन हुने महोत्सव स्थानिय थारु संस्कृतिको संरक्षण र थारु खानाको प्रबद्र्धन गर्नु रहेको आयोजकको भनाई छ । अहिले महोत्सव परिसर सजावटका कामहरु भईरहेको छ । महोत्सवमा २०० जति स्टल रहने र स्टल बुकिङ धमाधम भैरहेको जनाइएको छ ।
महोत्सवमा बाल उद्यान लगायत मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने जनाइएको छ ।


यसवर्ष महोत्सव परिसरमा घोङ्ही र चिचरको पोकाको विशाल मूर्ति स्थापना गरिदैछ । पर्यटनलाई प्रवद्र्धन गर्नका लागि महोत्सवस्थलदेखि कुमरोज मध्यवर्ती सामुदायिक वनमा जीप सफारी र जंगल सफारी, महोत्सव परिसरमा बोटिङ्ग कार्यक्रम राखिएको मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जानकारी दिनुभयो ।
महोत्सवमा आउने युवाहरुलाई लक्षित गरी खिचरा महोत्सवको पेज मार्फत सेल्फी प्रतियोगिता, खेलाडीहरुका लागि राष्ट्रियस्तरको भलिबल प्रतियोगिता, स्वास्थ्य सम्बन्धि जनचेतना जगाउन ४० वर्षभन्दा माथिका महिला र पुरुषको लागि छुट्टाछुट्टै दौड प्रतियोगिता, विद्यार्थीहरुका लागि विद्यालयस्तरिय वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता, कृषकहरुका लागि कृषि उपज प्रतियोगिता र थारु हस्तकला सम्बन्धि सीप जगेर्ना एवम् युवापुस्तालाई हस्तान्तत्रण गर्नका लागि थारु साँस्कृतिक घरेलु हस्तकला सामग्री निर्माण प्रतियोगिता आयोजना गरिएको प्रचारप्रसार संयोजक कारी महतोले बताउनु भयो ।
गतवर्ष झै यसपटक पनि महोत्सवमा चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । महोत्सव पूर्व र महोत्सव अवधिभर उत्कृष्ट समाचार तथा फिचर लेखेर प्रकाशन तथा प्रसारण गरेबापत खिचरा महोत्सवको समापन समारोहमा टेलिभिजन, पत्रपत्रिका, रेडियो र अनलाइनका चार जना पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्न लागिएको आयोजकले जनाएको छ ।
महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि १५१ मूल आयोजक समिति र विभिन्न ३३ उपसमितिहरु गठन गरिएको छ । उपसमितिहरुले आफ्ना जिम्मेवारीका कामहरु तिब्र रुपमा अगाडि बढाएका छन् । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि २५ रुपैयाँ टिकट लाग्ने जनाइएको छ । महोत्सवबाट बचत भएका रकम असहाय, अनाथ बालबालिकाहरु र आन्दोलनका घाइते सन्जीत महतोलाई सहयोग गर्नुका साथै थारु कल्याणकारिणी सभाका लागि भवन निर्माण गर्ने लक्ष्य राखिएको छ ।
महोत्सव थारु कल्याणकारिणी सभा चितवनको क्षेत्र नं. ७ ले आयोजना गरेको हो ।

Promise Education Consultancy