मृतक म्यादी प्रहरी एडीको परिवारलाई २५ लाख दिने

काठमाडौं, ९ पुस । प्रहरीको गोली लागि मृत्यु भएका म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिईने भएको छ । विनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीको पहलमा सरकारले १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको हो ।
बाँकी १५ लाख म्यादी प्रहरी हुँदा गरिएको बिमाबाट दिइने छ । मन्त्री शाहीले गृहमन्त्रालयलाई क्षतिपूर्ती रकम दिने निर्णय गर्न दबाब दिएका थिए । उनले छानबिन समिति गठन गरी मृतक ऐडीलाई शहीद घोषणा गर्न पनि दबाब दिएका छन् ।

मन्त्री शाहीको निरन्तरको दबाबपछि गृहमन्त्रालयले छानबिन समिति पनि गठन गरेको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए । दुवाडीका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट गृहले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा गृह मन्त्रालयका सहसचिव डा। मानबहादुर विक, प्रहरी नायव महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायव महानिरीक्षक प्रविण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक लक्ष्मण गुरुङ छन् । ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको प्रवक्ता दुवाडीले बताए । घटनामा घाइते भएकाहरुको पनि निःशुल्क उपचार गरिने भएको छ ।

Promise Education Consultancy