आगामी आवको बजेट चालू आवभन्दा दुई खर्ब बढी,नयाँ संरचना बनाउन सवा ८ खर्ब

काठमाडौँ, ९ पुष । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७४/०७५ मा १५ खर्ब ७९ अर्ब रुपैयाँ बजेट ल्याउने गरी तयारी थालेको छ। मन्त्रालयको खाका अनुसार चालू आवभन्दा आगामी आवको बजेट दुई खर्ब ९१ करोड रुपैयाँ बढी हुनेछ। बजेटको स्रोत व्यवस्थापन गर्न मन्त्रालयले राजस्व संकलन ३० प्रतिशतले बढाउने योजना बनाएको छ। अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक प्रतिबद्धता भए चालू आवको राजस्व लक्ष्यभन्दा ३० प्रतिशत बढाएर १५ खर्ब ७० अर्बको बजेट ल्याउने सकिने जानकारी दिए।

अहिले भन्सार विन्दुबाट न्यून विजकीकरण भएर वस्तु भित्रिरहेका छन्’, सचिव अधिकारीले भने, ‘यसलाई सुधार गर्न सके भन्सार शुल्क बढ्छ।’ अहिले भन्सारमा सामानको मूल्यांकनमा न्यून विजकीकरण भएको पाए पनि राजनीतिक दबाबमा सामान छुट्ने गरेको छ। भन्सार प्रशासनलाई प्रभावकारी रूपमा काम गर्ने वातावरण बनाइदिन सक्ने हो भने भन्सारबाट अहिले संकलन हुने राजस्व बढाउन सकिने मन्त्रालयको ठहर छ।  आजको अन्नपूर्णपोष्टमा खबर छ।

नयाँ संरचना बनाउन सवा ८ खर्ब

मुलुकमा नयाँ संरचना निर्माण गर्न आठ खर्ब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। देश संघीय संरचनामा गएसँगै स्थानीय, प्रदेश र संघ तीनै तहको संरचना तयार पार्न यो रकम लाग्ने अनुमान गरिएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।‘संवैधानिक व्यवस्थाअनुसार देश नयाँ संरचनामा प्रवेश गरी तीनै तहको सरकार कार्यान्वयनमा जाँदैछ’, उनले भने, ‘अहिले भएका सरकारी भवन र कार्यालयले २० प्रतिशतमात्र धान्छ।’ बाँकी सरकारी संरचना तयार गर्न सरकारले तीन वर्षमा ८० प्रतिशत नयाँ संरचना तयारपार्नु पर्नेछ। हाल मुलुकभर चार हजार सरकारी भवन छन्।

 

Promise Education Consultancy