किसान बचतको २२ औँ साधारणसभा सम्पन्न

नवलपरासी, ८ पुस । नवलपरासीको गैंडाकोटमा प्रधान कार्यालय भएको किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाका क्रममा नेफ्कुनका केन्द्रीय अध्यक्ष डिबी बस्नेतले सहकारीहरुका कारण गाउँमा गरिबी न्यूनीकरण भएको बताए । सरकारको तीन खम्बे नीतिमा समेत सहकारी रहेकोले मुलुकको समृद्धिको लागि सहकारी संस्थाहरु अपरिहार्य भएको बस्नेतको भनाइ थियो । केही सहकारीहरुका कारण सबै सहकारीहरु बदनामीमा पर्ने भएकाले सहकारी ऐन र नियमको सबैले पालना गर्नुपर्ने बस्नेतले बताए ।

किसान सहकारीमा नवलपुर क्षेत्रका विभिन्न सहकारीहरु मर्ज हुँदै ठूलो सहकारी संस्थाको रुपमा रहेको छ । उक्त संस्थामा २०७३ सालमा मात्रै विभिन्न सात वटा सहकारी संस्था गाभिएका संस्थाका सचिव अनिल सापकोटाले बताए । विक्रम सम्वत् २०५२ सालमा २५ जना सदस्यहरु जम्मा भएर स्थापना भएको किसान बचत तथा ऋण सहकारी संस्थामा अहिले २४ हजार भन्दा बढी सदस्यहरु रहेका छन् ।

किसान साकोसले आफ्नो वार्षिक साधारणसभाका क्रममा संस्थाका ज्येष्ठ शेयर सदस्यहरुलाई समेत सम्मान गरेको थियो । सहकारीले आर्थिक वर्ष २०७३/७४ मा एक करोड २३ लाख दुई हजार दुई सय ९२ रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । करिब एक अर्बको हाराहारीमा पुँजी भएको संस्थाले आगामी वर्षसम्म सम्पतीले तीन गुण बढाउने योजना रहेको अध्यक्ष श्रीहरि चालिसेको भनाइ छ ।

Promise Education Consultancy