महिनाको एक दिन ट्राफिक व्यवस्थापनमा खटिने प्रतिवद्धता

चितवन, ८ पुस । भरतपुरमा रहेका विभिन्न संघसंस्थाले महिनाको एक दिन ट्राफिक व्यवस्थापनमा जुट्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनद्वारा शनिबार भरतपुरमा आयोजना गरिएको महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई कार्ययोजना अन्तर्गत भरतपुरमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले महिनाको एक दिन ट्राफिक सन्देश फैलाउन काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उक्त कार्यक्रममा सहभागी भएका लायन्स, लियो, रोटरी, रोट्रयाक्ट, सरसफाईसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले महिनाको एक दिन सडकमा गएर ट्राफिक शिक्षा सम्बन्धि काम गर्ने बताएका हुन् । उक्त छलफलमा सहभागी भएका संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले फरक फरक दिनमा ट्राफिक व्यवस्थापनको काम सबैको जिम्मेवारी क्षेत्र भित्र पर्ने काम हो भनेर सडक प्रयोगकर्ताहरुलाई जानकारी गराउँदै जनचेतना जागरण गराउने भएका हुन् । छलफलमा सहभागी भएका वातावरवण मैत्री भरतपुरका अभियानकर्ता वीरेन्द्र पौडेलले ट्राफिक व्यवस्थापनका समस्या तथा चुनौतिहरुको व्यवहारिक रुपले अध्ययन मनन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले नेपालको सडकको अवस्था कमजोर भएकाले समेत दुर्घटना बढ्दै गएको बताए । सार्वजनिक सवारी चालकहरुले मादक पदार्थ सेवन गर्दै सवारी चलाउँदा दुर्घटना बढेको भेटिएकोले त्यस्ता कार्य निरुत्साहित गर्नको लागि प्रहरीले अभियान चलाउँदै मादक पदार्थ सेवन गरि सार्वजनिक सवारी चलाउने चालकलाई सार्वजनिक मुद्दा चलाउन लागेको थापाको भनाइ थियो ।

ट्राफिक शिक्षा सम्बन्धी जानकारी भएपनि त्यसलाई बेवास्ता गर्दा समाजमा दिनप्रतिदिन दुर्घटना बढ्दै गएकाले ट्राफिक व्यवस्थापनमा समुदायको महत्वपूर्ण भूमिका हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले बताए ।