मापदण्ड विपरीत घर नक्सा पास, कानुन मिच्नेलाई कारबाही गर्ने नगरपालिकाको चेतावनी

चितवन, ८ पुष । । सरकारले जारी गरेको भवन निर्माण निर्देशिका र आचारसंहित विपरीत रत्ननगर नगरपालिकामा घर नक्सा पास हुने गरेको तथ्य बाहिर आएको छ ।
कन्सल्टेन्सी सञ्चालक र नगरपालिकाभित्रकै विभागीय कर्मचारीको मिलेमतोमा मापदण्ड पूरा नगरी नयाँ घरको नक्सा पास हुने गरेको तथ्य बाहिर आएको हो ।चितवन पोष्टमा खबर छ ।
मुलुकमा भूकम्प गएपछि सरकारले सुरक्षित घर निर्माणको लागि भवन निर्माण निर्देशिका र आचारसंहिता लागू गरेको थियो । सरकारले भूकम्प प्रतिरोधी घरसँगै निर्देशिकामा केही मापदण्ड निर्धारण गरेको छ ।
सरकारले निर्धारण गरेको मापदण्ड विपरीत अहिले भवन निर्माण गर्न पाइँदैन । मापदण्ड विपरीत बनेका घरहरु नगरपालिकाले नक्सा पास गर्नै मिल्दैन । तर, रत्ननगरमा भने मापदण्ड विपरीत बनाइएका घरहरु पनि भनसुन र कन्सल्टेन्सीका सञ्चालक तथा नगरपालिकाभित्रकै विभागीय कर्मचारीहरुको मिलेमतोमा घरको नक्सा पास हुने गरेको छ ।
सरकारले निर्देशिकामा सबै घर भूकम्पप्रतिरोधी हुनुपर्ने, घरको जग बनाउँदा बाटो वा जग्गाको सिमानाबाट ६ मिटर छाड्नु पर्ने, ७ धुर जग्गामा साढे दुई तलाभन्दा बनाउन नपाइने, एउटा पिल्लरबाट अर्को पिल्लरको दूरी कति हुने, विम कस्दा बलियो तरिकाले कस्नुपर्नेलगायतका मापदण्ड तोकेको छ ।
घर नक्सा पास गर्न कन्सल्टेन्सीका सञ्चालकमार्फत् घरधनीले नगरपालिकामा पेस गरेको फाइलमा ५०÷६० वटासम्म त्रृटि देखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताए ।
उनले आफू रत्ननगर आउनुअघि सरकारले तोकेको मापदण्ड विपरीत घर नक्सा पास हुने गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत ढुंगाना यहाँ आएपछि मापदण्ड विपरीत हुने नक्सा पासको काममा नियन्त्रण भएको छ ।
“जनप्रतिनिधिहरुलाई प्राविधिक कुराको ज्ञान हुँदैन”, उनले भने, “ कन्सल्टेन्सीका सञ्चालक र नगरपालिकाकै विभागीय शाखामा कार्यरत कर्मचारीहरुले जनप्रतिनिधिलाई झुक्याएर नक्सा पास गर्ने गरेको पाइयो । मापदण्ड पूरा नगरी आएका करिब दुईसय वटा फाइल नगरपालिकाले रोकेको छ ।”
“कन्सल्टेन्सीमार्फत घरधनीले नगरपालिकामा पेश गरेको फाइलमा समस्यैसमस्या छ”, उनले भने, “ती फाइलहरुमा ३० प्रतिशतमात्र मापदण्डअनुसार देखाइएको छ, यस्तो घर कसरी पास हुनसक्छ ?”
प्रमुख प्रशाशकीय अधिकृत ढुंगानाले भवन निर्माणमा दण्डहीनता देखा परेको बताए । रत्ननगर नगरपालिकाले मापदण्ड विपरीत नक्सा बनाउने र पास गर्ने कन्सल्टेन्सीका सञ्चालक र नगरपालिकाका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
“कानुन मिच्नेलाई छुट दिइँदैन”, उनले भने, “ऐनले तोकेबमोजिम कारबाही गछौँ । सरकारले तोकेको मापदण्डविपरीत घर बनाउने भनेको नगरवासीको जीवन जोखिममा पार्ने काम हो । यस्तो गल्ती गर्ने कसैले पनि छुट पाउँदैन ।”
जिल्ला प्रशासन कार्यालयमा दर्ता भई नगरपालिकामा सूचीकृत भएका कन्सल्टेन्सीहरुले नगरपालिकाको आसपासमा कार्यालय स्थापना गरी नयाँ घरको नक्सा बनाउने र त्यो पास गर्न घरधनीलाई सहजीकरण गर्ने काम गर्दछन् ।
रत्ननगरमा यस्ता कन्सल्टेन्सीहरु करिब २२ वटा रहेका छन् । कन्सल्टेन्सीका सञ्चालकहरुले घरधनीसँग मोटो रकम असुल गरी नगरपालिकाका विभागीय कर्मचारीहरुसँग मिलेर नक्सा पास गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत ढुंगानाले बताए ।
“यहाँ त मनपरी हुँदोरहेछ”, उनले भने, “मेयर, उपमेयरलाई समेत झुक्याएर नक्सा पास गरेको पाइएको छ ।” कर्मचारी र कन्सल्टेन्सीका सञ्चालकहरुको लापर्बाहीका कारण भूकम्पपछि बनेका घरहरु पनि मापदण्ड विपरीत बनेको ढुंगानाले बताए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नगरभित्रका घर निर्माणमा बदमासी गर्नेलाई नगरपालिकाले कानुनको दायरामा ल्याउने बताए । “पैसाको लागि नगरवासीको जीवन घरापमा पार्ने काम भएको छ” उनले भने, “यो विषयमा हामी चुप लागेर बस्दैनौँ ।”

Promise Education Consultancy