पाँच दलको बैठक निष्कर्षविहीन, कुन दलको कस्तो अडान ?

काठमाडौं,७ पुष । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको प्रमुख पाँच दलको बैठक निष्कर्ष बिहिन भएको छ ।बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष सिफारिस अध्यादेशमा सहमति खोजेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकल संक्रमणीय मतप्रणालीको विरोध गरे ।

‘प्रधानमन्त्रीले राष्ट्रपति कहाँ जुन अध्यादेश प्रस्तुत भएको छ त्यसमा सहमति चाहियो भन्नुभयो’ बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यादेश प्रस्तुत गर्दा सहमति भएन र सरकार आफैंले प्रस्तुत गरेको अन्तरवस्तुभन्दा भिन्न भयो । त्यसैले यसमा निष्कर्षमा पुग्न सकिएन ।’

कांग्रेस नेता विमलेन्द्र निधिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा उल्लेख रहेको एकल संक्रमणीय मतप्रणालीमा फोरम र राजपाको पनि सहमति जनाएको बताए । ‘एमाले अध्यक्ष ओजीलीले यो असंवैधानिक हो, एकल संक्रमणीय मिल्दैन भन्नुभयो,’ निधिले भने,’महन्थ ठाकुर र उपेन्द्र यादवजीले हामी एकलसंक्रमणीय पक्षमा छौं भन्नुभयो ।’

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले  भने प्रस्तावित एकल संक्रमणीय मतप्रणालीको समर्थन गरेका छन् ।

त्यस्तै बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका छन् ।तर, कांग्रेस नेताहरुले भने राष्ट्रियसभा गठन नभएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने भन्दै राष्ट्रपतिले तत्काल अध्यादेश जारी गर्नु पर्नेमा जोड दिएका छन् ।

Promise Education Consultancy