‘हरास’ रोगको कारण चितवनमा सुन्तलाको उत्पादन २० प्रतिशत घट्यो

चितवन, ७ पुष । । बोटको टुप्पो सुक्दै गएर मर्ने एक किसिमको रोग ‘हरास’ का कारण चितवनमा यस वर्ष सुन्तलाको उत्पादन २० प्रतिशतले घटेको छ । यसलाई कृषि प्राविधिकहरु सुन्तलामा लाग्ने ‘क्यान्सर’ रोग भनेर पनि टिप्पणी गर्छन् ।
‘सुन्तला उत्पादनमै असर पर्ने गरी ‘हरास’ रोगको समस्या देखियो’, जिल्ला कृषि विकास कार्यालय चितवनका वागवानी विकास अधिकृत धनबहादुर थापाले भने, ‘यो रोग अहिले प्राय किसानको बगैचामा छ । वर्षभरिमा एक हेक्टर जग्गामा कम्तीमा नौ वटा बोट यही रोगले मारिरहेको छ ।’ बोटको टुप्पो सुकेर मर्दै जाने यो रोग लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुने थापाले बताए ।
‘नियमित बगैचाको सरसफाइ नगर्ने, गोडमेल नगर्ने बगैचामा यो रोग बढी देखिएको छ’, उनले थपे, ‘रोगले छोपिसकेपछि रुख सुकेर मर्छ । त्यसको उपचार नै गर्न सकिने अवस्था रहँदैन ।’
प्राविधिकका अनुसार सुन्तला एक हेक्टरमा ३०० बोट रोपिन्छ । चितवनमा यो वर्ष २३९ हेक्टरमा व्यवसायिक सुन्तला खेती गरिएकोे छ । रोगकै कारण प्रति हेक्टर ९ वटा बोट मर्ने गरेको तथ्यलाई हेर्दा चितवनमा एक वर्षमा दुई हजार १५१ का हाराहारीमा सुन्तलाको बोट मरिरहेका छन् ।
यो रोग कै कारण अहिले चितवन र यस आसपासका क्षेत्रमै सुन्तला उत्पादनमा प्रभाव परेको छ । यही रोगका कारण चितवनमा यो वर्ष सुन्तलाको उत्पादनसमेत गिरावट आएको छ ।
‘यो वर्ष चितवनमा एक हजार ६३४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषक समूहबाट जानकारी आएको छ’ वागवानी विकास अधिकृत थापाले भने, ‘अघिल्लो वर्ष चितवनमा दुई हजार ४३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।’
सुन्तलाको खेती गरिएको जग्गा भने चितवनमा अघिल्लो वर्ष र यो वर्ष बराबर नै हो । २३९ हेक्टर जग्गामा सुन्तला खेती गरिएकामा उत्पादन दिने सुन्तला भने गत वर्ष २०६ हेक्टर र यो वर्ष २१० हेक्टर रहेको तथ्याङ्क जिल्ला कृषि विकास कार्यालयसँग छ ।
गत वर्ष ५०० क्विटल सुन्तला बेचेका किसान हरिबहादुर नेपालले यो वर्ष ४०० क्विटल सुन्तला पनि बेच्न सकेनन् । ‘उत्पादन घट्दै गयो’, उनले भने, ‘रुख मर्ने नै प्रमुख समस्या हो ।’ दारेचोक तामिनका किसान नेपाल रुख मर्ने समस्या समाधान गर्न नसक्ने हो भने बगैचा नै नाश हुने चिन्ता व्यक्त गर्छन् । तामिन चितवनकै सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत हो । यसका अलवा चितवनमा दारेचोककै तोङदाङ, चण्डीभन्ज्याङ, काउले लगायतका क्षेत्रमा सुन्तलाको खेती गरिन्छ ।
बोट नै मर्ने समस्यासँगै अहिले सुन्तला बगानमा बोटमा लाग्ने पतेरा तथा कीरा फट्याङ्ग्राको समस्या पनि छ । यसले फल लाग्ने बेलामै पनि झार्ने समस्या पारिरहेको छ । चितवन पोष्ट दैनिकमा खबर छ।
सुन्तलाको मूल्य भने बढी !
सुन्तलाको उत्पादन घटे पनि यो वर्ष चितवनमा सुन्तलाको मूल्य भने बढेको छ ।
किसानले बोटबाटै यो वर्ष ८० रुपैयाँ किलोका दरले सुन्तला बेचिरहेका छन् । ‘बोटमै आएर ८० रूपैयाँका दरमा व्यवसायीले किसानबाट सुन्तला खरिद गरेका छन्’, तामिनका किसान हरिबहादुर नेपालले भने, ‘यो मूल्य अघिल्लो वर्ष ६० रूपैयाँ प्रति किलो थियो ।’
सुन्तलाको मूल्य बढे सँगै यसको उत्पादन घटे पनि किसानलाई जाने रकम भने बढेको पाइन्छ । अघिल्लो वर्ष औषत ६० रूपैयाँका दरमा दुई हजार ४३ मेट्रिक टन सुन्तला बेचेका चितवनका किसानले १२ करोड २५ लाख ८० हजार रूपैयाँ भित्र्याएका देखिन्छ । यो वर्ष चितवनमा प्रति किलो औसत ८० रुपैयाँका दरले सुन्तला बेचेका किसानले एक हजार ६३४ मेट्रिक टन सुन्तला बिक्री गरेर १३ करोड सात लाख २० हजार रकम भित्र्याएको पाइन्छ । वागवानी विकास अधिकृत थापा भन्छन्, ‘उत्पादन घटे पनि मूल्य बढ्दा चितवनका किसानले अघिल्लो वर्षको तुलनामा सुन्तला बेचेर बढी रकम लिन सफल भएका छन् ।’

Promise Education Consultancy