नारायणगढ मुग्लिङ सडकको कछुवा गति कामले यात्रुको सास्ती कायमै, दुई महिना ३२ प्रतिशत काम सक्न गाह्रो

चितवन, ७ पुस । एशीयन सडकको मापदण्ड अनुसार स्तरोन्नती गर्न लागिएको नारायणगढ मुग्लिङ सडक आयोजनाको समयमा नै पुरा नहुने निश्चत भएको छ ।
आगमी दुई महिना मात्र निर्माण सम्पन्न मिति बाकीँ रहदाँ अझै ३२ प्रतिशत काम बाकीँ भएसगैँ यात्रुहरुको सास्ती कायम रहने भएको छ । सडकखण्डको निर्माण ढिलासुस्तीका कारण हालसम्म ६८ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ ।
दुई महिना बाकीँ छ तर काम निकै डिला भएको छ, आयोजनाका ईन्जीनियर शिव खनालले भने । म्याद थप नभए काम पुरा हुदैँन् ।
उनका अनुसार पुस पहिलो हप्तासम्ममा ८१ प्रतिशत काम हुनुपर्नेमा जम्मा ६८ प्रतिशतमात्र काम भएको हो । ३२ महिनामा ६८ प्रतिशत काम भएको छ ।
कछुवाको गतिमा अगाडि बढेकोमा काठमाडौँलाई तराईँसँग जोड्ने देशकै लाइफलाइनको रुपमा रहेको यो सडक निर्माणमा ढिलाई हुँदा स्थानीय बासिन्दा, यात्रु तथा चालकलाई मात्रै अप्ठ्यारो कायम रहने भएको छ । सडक निर्माणमा ढिलासुस्ती हुँदा दैनिक लाखौँ रुपैयाँको आर्थिक क्षति समेत हुने गरेको छ ।
तत्कालिन राज वीरेन्द्रको पालामा विसं. २०३६ सालमा निर्माण गरिएको सडक साँघुरो भएपछि ३६ वर्ष पछाडि नै स्तरोन्नतीको लागि काम सुरु गरिएको थियो ।
विक्रम सम्वत २०७४ बैशाखसम्म सडक निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो । भूकम्प र नाकाबन्दीको बहाना बनाउँदै निर्माण सम्पन्न गर्नुपर्ने मितिको निर्माण कम्पनीहरुले पटक पटक म्याद थप गराएका छन् । विभिन्न तीन खण्डमा गरेर निर्माणको काम भएको उक्त सडकको काम पुरा हुन नसकेपछि तेस्रो पटक समेत म्याद थप गर्दै फागुनमा काम सक्नुपर्ने गरि सम्झौता भएको थियो ।
अब दुई महिनामा ३२ प्रतिशत काम सक्न गाह्रो छ ।
पटकपटकको पहिरो, वर्षा, दुई पटकको निर्वाचनलगायतका कारण काम रोकिएको र त्यो समयको म्याद थप गर्न बाँकी रहेकोले अब बढीमा ४५ दिनसम्म म्याद थप हुन सक्ने हुँदा चैत मसान्तसम्ममा सडक सम्पन्न हुनुपर्ने आयोजनाको भनाइ छ ।
३२ दशमलब २ किमी लम्बाइ रहेको सो सडकको हालसम्म १३ दशमलव ५ किमी सडकको एक तहको कालोपत्र भएको छ । १९ किमि भागको कालोपत्रे र ८०० मिटर भित्तो काट्ने काम बाँकी नै रहेको छ ।
खनालका अनुसार मंसिर महिनामा उनीहरुले पाउने भुक्तानीबाट जरिवाना असुल गरिएको छ । पहिलो खण्डको ६१ करोड रूपैयाँ, दोस्रो खण्डको ९८ करोड र तेस्रो खण्डको एक अर्ब ३१ करोड रूपैयाँमा ठेक्का दिइएको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डमा तोकिएको समयमा काम पूरा नगर्ने ठेकेदार कम्पनीबाट ७५ लाख रूपैयाँ जरिवाना असुल गरिएको थियो । पहिलो र तेस्रो खण्डको जिम्मेवारी पाएका दुई निर्माण कम्पनीबाट जरिवाना असुल गरिएको हो । क्रमश आठ लाख र ६७ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ ।
सडक खण्डको करिब ३३ किलोमिटर भागले देशको प्रमुख राजमार्ग महेन्द्र राजमार्ग र राजधानी भित्रिने पृथ्वी राजमार्गलाई जोड्ने काम समेत गरेको छ ।
विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको ऋण सहयोगमा एशीयाली मापदण्ड अनुसार सडक निर्माण थालिएको थियो । चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । यो सडक खण्डको आँपटारीदेखि दासढुङ्गासम्म करिब १० किलोमिटर सडक भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म ११ किलोमिटर सडक भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म करिब १२ किलोमिटर सडक भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ । कालिखोलादेखि मुग्लिनसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्नुपर्ने हुन्छ ।
नारायणगढ मुग्लिङ सडक खण्ड फराकिलो बनाउने काम सुरु भएपछि काममा ढिलासुस्ती भएको भन्दै संसदको विकास समिति तथा प्रधानमन्त्रीले समेत गएको असार १३ गते सडकको अनुगमन गरि तोकिएको समयमा गर्न निर्देशन दिए पनि काम हुन नसकेको हो ।

Promise Education Consultancy