बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नियम अभाव,नियमन गर्न कठिनाइ


काठमाडौँ,७ पुष ।  उपचारका नाममा बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नियम अभाव देखिएको छ । जनताले विश्वास गरेका ठूला र नाम चलेका निजी अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परे पनि नियम अभावमा कारबाही हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले नियमको अभावले गर्दा बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नसकिएको बताए । ‘ठगी गरे भनेर कारबाही गर्ने आधार नै छैन । कसरी सरकारले त्यस्ता अस्पताललाई कारबाही गर्छ,’ मन्त्रालयका एक अधिकारीले भने ।आजको नयाँपत्रिकामा खबर छ ।

बिरामीको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था विभागले गरेको अनुगमनमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, बी एन्ड बी अस्पताल, न्युरो अस्पताल, बयोधा अस्पताललगायतले बिरामीसँग गैरकानुनी रूपमा धेरै रकम लिने गरेको पाइएको थियो । अनुगमनका क्रममा ठूला अस्पतालहरूले सरकारले तोकेको ५ प्रतिशत सेवा शुल्कको साथै थप ५ देखि १३ प्रतिशत अतिरिक्त शुल्क लिने गरेको पाइएको थियो ।

नियमन गर्न कठिनाइ
फरक–फरक शुल्क लिनुमा नियम अभाव प्रमुख कारणका रूपमा हेरिएको छ । कुन सेवामा कति शुल्क लिन पाउने भन्ने नियम स्वास्थ्य मन्त्रालयले बनाएको छैन । ‘उपचारका पद्धति धेरै हुन्छन् । लिस्ट बनाएर नागरिक बडापत्रमा उल्लेख गरेर पनि सकिने अवस्था छैन,’ डा. श्रेष्ठले भने, ‘कुनै अस्पतालले अध्यधिक महँगा उपकरण ल्याएका छन् । कर्मचारी सोहीबमोजिम छन् । उनीहरूको शुल्क र सामान्य अस्पतालको शुल्कमा तुलना गर्न मिल्दैन ।’ श्रेष्ठले स्पष्ट रूपमा सरकारले उपचार शुल्क नतोक्दासम्म पूर्णरूपमा नियमन गर्न नसकिने बताए ।

Promise Education Consultancy