ल्होसारको तयारीमा जुटे गुरूङ समुदाय

तुलमान गुरूङ
चितवन,६ पुष । । तमू अर्थात् गुरूङ समुदाय यतिबेला ल्होसार पर्वको तयारीमा जुटेका छन् । आदिवासी जातजाति समुदायभित्र गुरूङ, तामाङ र शेर्पा जातिले छुट्टाछुट्टै समयमा ल्होसार पर्व मनाउँछन् । तीन जातिले मनाउने तीनवटै ल्होसारमध्ये सबैभन्दा पहिले गुरूङ समुदायले मनाउने ल्होसार आउँछ । देशभरका गुरूङ समुदाय यसवर्ष पनि विगतका वर्षहरूमा जस्तै धुमधामका साथ ल्होसार मनाउने तयारीमा व्यस्त छन् ।
पर्वको नाम, मनाउने तिथि र मिति फरक भए पनि ल्होसारको अर्थ र परिभाषा भने एउटै हुन्छ । गुरूङ, तामाङ र हिमाली जनजातिले यसलाई महान् चाड तथा नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । समग्रमा ल्होसार भनेको नयाँ वर्ष हो ।
गुरूङहरूले तमू संवत् अनुसार हरेक वर्ष पुस १५ मा ल्होसार मनाइन्छ । तमू ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत् सुरू भएको संकेत गर्छ । प्राचिन तमू प्ये शास्त्रका अनुसार तमू ल्होसारका दिन तमूहरूका प्रथम महापुरूषको उत्पत्ति भएको मानिन्छ । ल्होसारका दिनदेखि नयाँ वर्ष अर्थात् नयाँ ल्हो (वर्गको) थालनी हुनेगरेको जनविश्वास रहिआएको छ । जसअनुसार विभिन्न १२ वटा जीवजन्तुको नामबाट १२ वटा वर्ग निर्धारण गरिएको हुन्छ ।
यतिबेला तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषद्, तमू प्ये ल्हू संघ, तमू धीं, बौद्ध धर्म सेवा समिति, तमू अर्घौ सदनलगायतका संघसंस्थाले यो पर्व मनाउने तयारी गरिरहेका छन् । चितवनमा भने विशेषगरी तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हू संघ चितवनले ल्होसार पर्व मनाउँदैछन् । यो वर्ष देशभरका तमूहरूले कुकुर वर्ग अर्थात् खिल्होलाई स्वागत गर्दैछन् भने चरा वर्ग अर्थात् च्ह्या ल्होलाई बिदाइ गर्दैछन् । नेपालसहित तिब्बत, भुटान, भारत, म्यानमारलगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरूमा भएका तमू समुदायले भव्यताका साथ यो पर्व मनाउँदैछन ।
मुख्यतया ल्होसारको वास्तविक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समीक्षा तथा विमर्श आदि पर्दछन् । विशेष परिकारहरूमा सेलरोटी, अचार, मासु, रक्सी आदि पर्दछन् । चितवनमा पनि तमू ह्युल छोंज धीं, गुरूङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हू संघ चितवनको जिल्लादेखि इकाइसम्मका विभिन्न समितिले हर्षोल्लासका साथ यो पर्व मनाउँदैछन् ।
तमू ह्युल छोंज धीं चितवनले भरतपुरको तीनखोलेस्थित महाबौद्ध गुम्बामा ल्होसार पर्व मनाउने तयारी गरिरहेको छ । तमू ह्युल छोंज धीं चितवनका अध्यक्ष गणेशबहादुर गुरूङकाअनुसार ल्होसारको तयारीलाई तीव्र बनाइएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका गुम्बा तथा टोलहरूमा समेत ल्होसार मनाउने तयारी भइरहेको उनले बताए ।
तमू प्ये ल्हू संघ जिल्ला कार्य समिति चितवनले पनि विविध सांस्कृतिक कार्यक्रम गरेर ल्होसार मनाउने तयारी गरिएको समितिका सचिव विक्रम चम्रु तमूले जानकारी दिए । ११ वटा इकाइ समिति रहेको चितवनमा सबै इकाइलाई आ–आफ्नो क्होइबो तथा गुम्बाहरूमा मनाउन जिल्ला समितिले निर्देशन दिइसकेको उनले बताए । विशेषगरी गुञ्जनगर, सूर्यनगर, नौरंगेलगायतका स्थानमा ल्होसार मनाउने तयारी गरिरहेका छन् । यस्तै इन्द्रपुरी, कृष्णपुर, रत्ननगरलगायतका स्थानमा रहेका गुम्बाहरूमा पनि ल्होसार मनाउने तयारी भइरहेको छ ।

 

Promise Education Consultancy