सगरमाथाको उचाइ नाप्न सुरु

काठमाडौँ, ६ पुष । नापी विभागले छिमेकी भारत र चीनको भूमिलाई आधार बनाएर सगरमाथाको उचाइ मापन सुरु गरेको छ। भारतको समुद्री भूमि र चीनतर्फ ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस), ग्राभिटीलाई आधार मानेर मापन सुरु गरिएको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए।

विश्वकै अग्लो शिखर सगरमाथा नेपालमै रहे पनि पहिचान भएको एक सय ७० वर्षपछि नेपालले मापन थालेको हो। सगरमाथाको उचाइ अन्य देशले मापन गरे पनि नेपालले पहिलो पटक मापन सुुरु गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक भट्टले जानकारी दिए।

‘हामी शताब्दीभन्दा पछि परेका छौं, विश्वव्यापी प्रविधि अपनाएर मापनलाई विश्वसनीय बनाउन लागिपरेका छौं’, भट्टले भने।

मंसिर २५ र २६ मा अमेरिका, जपान, भारत, चीन, स्विजरल्यान्ड, इटाली र न्युजिल्यान्डका विज्ञसँग छलफल गर्दा आएको सुझावका आधारमा उचाइ मापन कार्य अघि बढाइएको विभागले जनाएको छ।

छलफलमा दुई पटक उचाइ मापनमा प्रत्यक्ष संलग्न भएका इटालीका प्रोफेसर जीओरजीओ पोरेट्टी र अमेरिकाका प्रोफेसर रोगर विल्हाम समेत सहभागी थिए।,
आजको अन्नपूर्णपोष्टमा खबर छ।