चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना शुरु

चितवन, ५ पुस ।  चितवन राष्ट्रिय निकुञ्जमा आजबाट बाघ गणना शुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन भागमा विभाजन गरेर मंसिर १४ गतेबाट पर्सा क्षेत्रबाट बाघ गणना शुरु गरिएको थियो ।

पहिलो खण्डमा चितवन राष्ट्रिय निकुञ्जको ठोरीको अमुवा भागबाहेक सबै पर्सा राष्ट्रिय निकुञ्जमा गणना गरिएको थियो ।बाघ गणनाका क्रममा पहिलो भाग पर्सा राष्ट्रिय निकुञ्ज, दोस्रो भाग पर्सा र चितवनको सीमा क्षेत्र हप्ताखोलादेखि टाइगर टप्ससम्म र तेस्रो खण्ड टाइगर टप्स पश्चिम भागमा विभाजन गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले नेपालको सबैभन्दा बढी बाघ भएको क्षेत्रको गणना आजबाट थालिएको बताउनुभयो ।

एउटा ब्लकमा करिब एक हजार दुई सय क्यामरा राखेर बाघ गणना गरिँदै आएको छ ।

आजबाट थालिएको क्षेत्रमा निकुञ्जसँगै राष्ट्रिय वन र मध्यवर्ती क्षेत्र पनि रहेको छ । दुई वर्ग किलोमिटरमा एक ठाउँमा क्यामरा राखेर गणना गरिएको छ । १५ दिनसम्म एकै ठाउँमा क्यामरा राखिने उहाँले जानकारी दिनुभयो । एउटा ब्लकलाई १४ भागमा विभाजन गरेर क्यामरा राखिएको छ ।

Promise Education Consultancy