‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा आउँदो साताबाट शुरु गरिने

चितवन, ५ पुस । दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा आउँदो साताबाट शुरु गरिने भएको छ ।

महाहन्टका लागि विशेष फौज वाहिनीबाट यहाँ खटिनका लागि एक गुल्म फौज आज साँझ यहाँ आइपुग्दैछ । निुकञ्ज सुरक्षार्थ खटिएको श्री बटुक दल गणका गणपति समुन्द्र थापाले विशेष फौज र निकुञ्जमा रहेका सेनालाई संयुक्तरुपमा तालिम दिएर अर्को साताबाट अप्रेसन महाहन्ट शुरु गरिने बताउनुभयो ।

नियमित सुरक्षाका अतिरिक्त महाहन्टमा विशेष सुरक्षा फौजले निकुञ्ज कर्मचारी, सरोकारवाला संरक्षणमा सम्बद्ध निकायसँग समन्वय गरी निकुञ्जको विशेष सुरक्षा गर्ने उहाँले बताउनुभयो । महाहन्टका क्रममा कुकुरसमेत परिचालन गरिँदैछ भने हात्ती, गाडी, मोटरसाइकल, साइकल, पैदल, डुङ्गा गस्ती समेत गरिँदैछ ।

हाल भएका पोष्टका अतिरिक्त ठाउँमा रातको समयमा पनि सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । वर्षाद् सकिएपछि हिउँदको समयमा निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रभित्र पर्यटन मार्ग खुल्ला हुने, पात झरेर जंगल उजाड हुने, खरखडाइ खुल्दा मानिसको आवतजावत बढ्ने, खोला घटेर सहजै मानिस वारपार गर्न सक्ने हुनाले यो समयलाई चोरी–शिकारको दृष्टिले अति संवेदनशील समय मानेर विगत केही वर्ष यतादेखि महाहन्ट सञ्चालन गरिँदै आएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले २०६७ सालबाट अप्रेसन हन्ट सञ्चालन गर्दै आएकामा २०७१ सालबाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । पुस महिनाबाट वर्षाद् शुरु नभएसम्म महाहन्ट जारी रहने गर्दछ ।विगतको अवस्थालाई हेर्दा मंसिरदेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी–शिकार हुने गरेको पाइएको छ ।

चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी–शिकारी भएको तथ्यांकले देखाएको छ । यसैलाई मध्यनगर गरी खोलानाला घटेकोले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जंगल सफा भएको समय पारेर चोरी शिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले निकुञ्जमा हाल ५७ ठाउँमा स्थायी पोष्ट रहेकामा महाहन्टका समयमा १२० भन्दा बढी ठाउँमा अस्थायी पोष्टकै रुपमा सुरक्षाकर्मी र कर्मचारी रहेर निकुञ्जको गस्ती गरिने बताउनुभयो ।

Promise Education Consultancy