कान्ति अस्पताल चरम संकटमा, तलब खुवाउनै धौधौ

काठमाडोँ, ५ पुष । नवजात छोराको रगतमा इन्फेक्सन भएपछि विनोद चेपाङलाई उपचार खर्च व्यहोर्न धौधौ भयो । बल्लतल्ल काठमाडौं ल्याएका चेपाङले धरौटीबापत कान्ति बाल अस्पतालमा पाँच सय रुपैयाँ राखे । अन्य उपचार खर्च व्यहोर्न नसकेपछि अस्पतालका निर्देशक डा.गणेशकुमार राईलाई गुहारे । चेपाङको अस्पताललाई तिर्नुपर्ने नौ हजार शुल्क मिनाहा भयो ।

धादिङ रोडाङ १० का चेपाङजस्तै अन्य विपन्नलाई निःशुल्क र अन्यलाई न्यूनतम शुल्क लिएर उपचार सेवा पुर्‍याउँदै आएको केन्द्रीय बाल अस्पतालका निर्देशक राईलाई अब तनाव थपिएको छ । उनी भन्छन्, ‘केही दिनअघि एक लाख ४५ हजार तिर्नुपर्ने बिरामीको शुल्क मिनाहा गर्नुपर्‍यो । अन्य अस्पतालमा उपचार गरी सबै पैसा सकिएपछि अन्तिममा उपचार गर्न आउँछन् । उपचार खर्चसमेत तिर्न नसकेपछि मिनाहा गर्नुपर्छ । त्यसको आर्थिक भार अस्पताललाई परेको छ ।’

अस्पतालका निर्देशक डा.राई र कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष सुवोध आचार्यलाई यतिबेला एउटै तनावले सताएको छ, ‘चिकित्सक र कर्मचारीलाई पुस महिनाको तलब समयमा कसरी खुवाउने ? ’ अस्पताल अहिले मासिक ८ लाख घाटामा छ । सरसफाइमा मात्र वार्षिक एक करोड ६० लाख खर्च हुने गरेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालमा करिब ६ सय कर्मचारी छन् । ती कर्मचारीलाई तलब खुवाउन अस्पतालले मासिक १ करोड हाराहारीमा आम्दानी गर्नुपर्ने हुन्छ । तर, मंसिर महिनामा करिब ७० लाख मात्र आम्दानी भएको छ । अस्पतालका निर्देशक डा.राई भन्छन्, ‘पुसदेखि फागुनसम्म जाडोको सिजनमा बिरामी घट्ने भएकाले आम्दानी पनि घट्दै जान्छ ।’ अहिले अस्पतालमा दैनिक पाँच सय संख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेका छन् । गर्मी समयमा बिरामी संख्या दोब्बर हुने गरेको छ । आजको अन्नपूर्णपोष्टमा खबर छ।