प्रदेश राजधानीका लागि ‘नयाँ सहर उपयुक्त,’चर्चामा रहेका सहरको आवस्यक मापदण्ड छैन

काठमाडौँ, ४ पुष । प्रदेश राजधानीका लागि नयाँ सहरको विकास गर्नु उचित हुने विभिन्न अध्ययन तथा अन्य देशको अनुभवले देखाएको छ । अहिले प्रदेश राजधानीका लागि प्रचारमा ल्याइएका कुनै पनि सहर राजधानी बन्नका लागि आवश्यक सबै मापदण्ड पुगेको नभएकाले त्यसका लागि नयाँ सहर नै बनाउनुपर्ने आवश्यकता देखिएको हो ।नयाँपत्रिकामा खबर छ।

सरकारले पारित गरेको राष्ट्रिय सहरी विकास रणनीतिले समेत प्रदेश राजधानीका लागि सबैभन्दा पहिला मापदण्ड तय गर्नुपर्ने र त्यसपछि मात्रै स्थानको छनोट गर्नुपर्ने उल्लेख गरेको छ ।प्रदेश राजधानीका लागि आवश्यक धेरै पक्षलाई विचार नै नगरी अहिले विद्यमान केही ठूला शहरलाई राजधानीका रुपमा चर्चा गर्नुको कारण आफूले नबुझेको शहरी विकास विज्ञ तथा राष्ट्रिय शहरी विकास रणनीतिका मस्यौदाकारमध्येका एक डा. महेन्द्र सुब्बाले बताए । ‘

पहिला राजधानीका रुपमा कुन स्थान उपयुक्त हुन्छ भनेर निश्चित मापदण्ड बनाउनुपर्छ, त्यसपछि मात्रै स्थान कहाँ उपयुक्त हुन्छ, त्यसको छनोट गर्नुपर्छ,’ उनले भने, ‘तर, अहिले त अलि धेरै घर जहाँ छन्, त्यहीँ राजधानी बनाउने भनेर चर्चा गर्ने गरिएको छ । त्यसभन्दा बढी केही हेरिएको छैन ।’ प्रदेश राजधानी रहने शहर स्मार्ट सिटीका रुपमा विकास हुनुपर्ने पनि रणनीतिमा उल्लेख छ ।

Promise Education Consultancy