देशभरीका म्यादी प्रहरीको पुस ७ गते बिदाई

चितवन, ४ पुस । मुलुकमा दुई चरणमा गरि सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरीलाई पुस ७ गते बिदाई गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीको भर्ना गरेकोमा चितवनमा एक हजार सात सय १० जना भर्ना गरेको थियो । निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीको म्याद ७ पुसमा सकिने भएकाले सो दिनबाट सबै म्यादीको बिदाई हुने भएको हो ।
पुस ७ गतेका दिन ५५ दिन पुग्ने भएकाले त्यस दिनसम्मको तलब तथा रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरू र उपत्यकाबाहिर सम्पूर्ण जिल्ला प्रहरी कार्यालबाट भर्ना गरिएको थियो ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज न्यौपानेका अनुसार प्रहरी जवानले पाएसरहको तलब, भत्ता र सुविधासहित म्यादी प्रहरी बिदा हुँदै छन् । म्यादी प्रहरीले ५५ दिन खटिएबापत आधारभूत तलब १७ हजार दुई सय ३० रुपैयाँका दरले तथा रासन, पारिश्रमिक र स्थानीय भत्ता पाउनेछन् ।
त्यस्तै, निर्वाचनको दिन सात दिनका लागि प्रतिदिन २ सय ५० रुपैयाँका दरले विशेष भत्ता र २ सय ५० रुपैयाँ नै खाजा खर्च पाउनेछन् । म्यादीमा भर्ना भएकाले ४ हजार रुपैयाँ पोसाक भत्ता पाउनेछन् भने बाटो खर्चस्वरूप एक हजार रुपैयाँ पनि उनीहरूले थप पाउनेछन् । चितवनका म्यादी प्रहरीहरुको भने बैंकमा खाता खोलिएको कारण उनीहरुलाई नगद भुक्तानी नदिई बैंकबाट भुक्तानी गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Promise Education Consultancy