मेघौली विमानस्थल नियमित सञ्चालन गर्न माग

आनन्द पोखरेल
चितवन, ४ पुस । पश्चिम चितवनको मेघौलीमा रहेको चितवनकै पुरानो विमानस्थल लामो समय बन्द भएर एक हप्ता अगाडिदेखि आंशिक रुपमा सञ्चालनमा आएको नमस्ते बिहानी साप्ताहिक पत्रिकामा खबर छ । नेपाल एयरलाएन्सले सातामा तीन दिन उडान भर्ने गरि मेघौली विमानस्थल सञ्चालनमा आएको भएपनि यसलाई नियमित सञ्चालनमा ल्याउनको लागि पहल सुरु गरिएको छ ।
छ दशकभन्दा अगाडि बेलायती राजघराना तथा भारतीय उच्च अधिकारीहरु चितवनमा शिकार खेल्न आउन थालेपछि २०१६ सालमा मेघौली विमानस्थल स्थापना गरिएको थियो । निकुञ्जभित्रका ठूला होटलहरु बन्द भएसँगै मेघौली विमानस्थल समेत ६६ सालदेखि बन्द गरिएको थियो । भरतपुर विमानस्थल सार्ने बारेमा छलफल भइरहेकोले पनि मेघौलीमा पूर्वाधारहरु थप्दै सुविधानसम्पन्न विमानस्थल बनाउन जनप्रतिनिधिले आवाज उठाएका छन् ।
चितवनको सबै क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएको भएपनि मेघौली क्षेत्र विशेष महत्व राख्ने पर्यटकीय क्षेत्र भएको स्थानीय बताउँछन् । मेघौली सहित पश्चिम चितवनको पर्यटन विकासमा हरदम लाग्ने त्यहाँका जनप्रतिनिधिहरुको भनाइ छ । कसरा मेघौली क्षेत्रको पर्यटन प्रवद्र्धन एवम् मेघौली विमानस्थलको नियमित सञ्चालन बारे छलफल तथा सम्मान कार्यक्रममा त्यहाँका जनप्रतिनिधिहरुले पर्यटकीय दृष्टिकोणले मेघौली राम्रो भएको भएपनि छायामा पारिएको बताए ।
पर्यटकहरु ओसार्नका लागि विक्रम सम्वत् २०१६ सालमा स्थापना गरिएको मेघौली विमानस्थललाई पुनः नियमित रुपमा सञ्चालनमा ल्याउँदै पर्यटन प्रवद्र्धन गर्नुपर्ने चितवन क्षेत्र नम्बर ३ (क)का प्रदेशसभा सदस्य कृष्ण भुर्तेलले बताए । जंगलमा विभिन्न होटल तथा लजहरु सञ्चालनमा हुने बेलासम्म सञ्चालनमा रहेको विमानस्थल बन्द हुँदा उक्त क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत ह्रास आएको भुर्तेलको भनाइ छ । पश्चिम चितवनलाई कृषि, शिक्षा र तथा वन्यजन्तु पर्यटन क्षेत्रको रुपमा विकास गर्दै अगाडि बढ्नुपर्ने भुर्तेलले बताए ।
उक्त क्षेत्रमा मानव वन्यजन्तुको द्वन्द्वलाई न्यूनीकरण गर्दै पर्यटकीय सम्भावनालाई उजागर गर्न सकिने भुर्तेलको भनाइ छ । नारायणी र राप्ती नदी आफु्नो क्षेत्रमा पर्ने भएकोले प्रदेशसभा खबाट निर्वाचित रामलाल महतोसँग मिलेर नदी व्यवस्थापन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने भुर्तेलले बताए ।
नारायणी नदीलाई गहिरो बनाउँदै त्रिवेणीदेखि जलयातायता समेत सञ्चालन गर्न सकिने भुर्तेलको भनाइ थियो । नदीको किनारमा अग्लो ड्याम लगाएर नदी नियन्त्रण गर्दै उक्त स्थानबाट यातायात सञ्चालन गर्दै पर्यटकीय करिडोर बनाउन सकिने भुर्तेलले बताए । तीन तहको सरकार भएको अवस्थामा महानगरपालिकाले स्थानीय योजनाहरु बनाउँदै अगाडि बढ्नुपर्ने र त्यसमा प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्ने भुर्तेलको भनाइ थियो ।
कार्यक्रममा मन्तव्य राख्दै चितवन क्षेत्र नम्बर ३ (ख)का निर्वाचित प्रदेशसभा सदस्य रामलाल महतोले पछिल्लो समय पश्चिम चितवनमा समेत पर्यटकीय चहलपहत हुन थालेको भएपनि अपेक्षाकृत रुपमा पर्यटक बढ्न नसकेको बताए । पश्चिम चितवनलाई सौराहासँग जोड्दै माडीको समेत पर्यटकीय क्षेत्रको उजार गर्ने महतोको भनाइ थियो । भरतपुरलाई राजधानीपछिको ठूलो शहर बनाउनको लागि त्यहाँको विमानस्थल मेघौलीमा नै सार्नुपर्ने महतोको भनाइ छ ।
भरतपुरमा रहेको विमानस्थललाई खुला चौरको रुपमा विकास गर्दै मेघौलीमा विमानस्थल बनाउन आवश्यक रहेको महतोको भनाइ थियो । मेघौली विमानस्थल सञ्चालनमा आउँदा २२ बिघाहा क्षेत्रफल रहेको भएपनि अहिले अतिक्रमणमा परेको आफूले सुनेको उल्लेख गर्दै महतोले अतिक्रमित जग्गा विमानस्थलको स्वामित्वमा ल्याएर विमानस्थल सञ्चालनको लागि दुई सय विघाहा क्षेत्रफल जोड्नुपर्ने बताए । अहिले साना जहाजहरु मात्रै अवतरण हुनसक्ने अवस्था रहेकोले त्यहाँको भौतिक पूर्वाधार थप गर्दै ठूला जहाज अवतरण गर्नेगरि विमानस्थलको विकास गर्नु आवश्यक रहेको महतोले बताए ।
उक्त कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले मेघौली विमानस्थल सञ्चालन गर्नको लागि पूर्वाधारहरु थप्नुपर्ने बताए । नेपाल वायुसेवा निगमको विमानले भरतपुर विमानस्थलको टावरबाट सहयोग लिएर उडान भर्दै आएकोमा २०४५ मेघौली विमानस्थलमा नै टावर निर्माण गरि विमानस्थल सञ्चालन भएको सुवेदीले बताए । टाइगर टप्स जंगल जलका कारण नियमित सञ्चालनमा आएको मेघौली विमानस्थल २०६६ सालदेखि बन्द भएकोमा अहिले सातामा तीन दिन मात्रै उडान भर्दै आएको छ ।
विमानस्थलको एक हजार दुई सय मिटर धावन मार्ग रहेको भएपनि दुई सय मिटर अतिक्रमणमा परेको सुवेदीले बताए । उक्त विमानस्थलमा उद्धार र अग्नि निवारण सुविधा उपलब्ध नभएको, टर्मिनल भवन अवैज्ञानिक र साँघुरो भएको, आधुनिक पथ–प्रदर्शक यन्त्र जडान नभएको, धावन मार्ग कालोपत्र नभएको, विमानस्थल असुरक्षित नभएको, विमानस्थलको धावनमार्ग अगाडि अग्लाअग्ला घरहरु निर्माण भएकाले समेत विमानस्थल सञ्चालनमा समस्या हुने सुवेदीले बताए । मेघौली विमानस्थलमा जहाजलाई हावा दिने मेसिन नभएको, जहाजको उडान उचाई थाहा पाउने यन्त्र नभएको, जहाजसँग सञ्चार गर्ने यन्त्र नभएको, यात्रुको सामानहरु चेकजाँच गर्ने यन्त्र नभएको कारण यी पूर्वाधारहरु राखेर मात्रै विमानस्थल नियमित सञ्चालन गर्न सकिने सुवेदीले बताए ।
भरतपुरको मुख्य बजारबाट करिब २५ किलोमिटर पश्चिममा रहेको मेघौली विमानस्थल लामो समय बन्द हुँदा विमानस्थललाई आवश्यक पर्ने पूर्वाधार समेत बिग्रिएका छन् । मेघौली विमानस्थल चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएकोले समेत ठूला जहाज अवतरणमा समस्या हुने संरक्षणकर्मीहरु बताउँछन् ।