मेयर दाहालको नेतृत्वमा भरतपुर महानगरपालिकाको सरसफाई अभियान आजदेखी सुरु

चितवन,३ पुष । भरतपुर महानगरपालिकाले आज(सोमबार)देखि महानगर क्षेत्र सरसफाई अभियान सुरु गरेको छ । महानगरको आयोजनामा भरतपुरको गोन्द्राङमा भएको सरसफाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर रेणुु दाहालले भरतपुरलाई फोहोररहित सुन्दर शहरमा बनाउने प्रतिवद्धता जनाईन्।

मेयर दाहालले महानगर क्षेत्रमा संकलन हुने फोहोरलाई वर्गीकरण गरेर त्यसको व्यवस्थापन गरिने बताइन । उनले फोहोररहित सुन्दर भरतपुरको परिकल्पना साकार पार्न हरेक घरबाट साथ र सहयोगको अपेक्षा गरेको बताइन । घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याउन सके फोहोरको व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो ।
सरसफाई अभियान सुरु गरेपछि महानगर मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहले एकसाथ सडकमा फालिएको फोहोर संकलन गरेर बोरामा राखेका थिए । उनीहरुसँगै भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र सर्वसाधारण सरसफाई कार्यमा सहभागी भएका थिए ।
सरसफाई कार्यक्रममा स्थानीयसँग मिलेर सेना, प्रहरी, सशस्त्र प्रहरी र सामाजिक संघसंस्थाका प्रतिनिधिले सडक छेउको फोहोर टिपेका थिए । महानगरपालिका कार्यालयका कर्मचारी पनि सरसफाईमा सहभागी थिए । बोरामा संकलन गरिएको फोहोर महानगरपालिकाको फोहोर बोक्ने गाडीमा खन्याइएको थियो ।
भरतपुरको गोन्द्राङबाट सुरु भएको सरसफाई कार्यक्रम हाकिमचोक, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक, मेनरोडहुँदै पोखरा बसपार्कमा पुगेर सकिएको थियो ।

Promise Education Consultancy