देवघाटमा धन धान्यान्चल विराट महायज्ञ हुने

आशिष उप्रेती
चितवन,१ पुस । पवित्र तिर्थस्थल देवघाट धामको अभिन्न अङ्गको रुपमा रहेको गलेश्वर आश्रममा शिवरात्रिको अवसर पारेर माघ २१ गतेदेखि फागुन २ गतेसम्म धन धान्यान्चल विराट महायज्ञको आयोजना हुने भएको छ ।

शिवरात्रिको पावन अवसरमा गलेश्वर आश्रम देवघाटधाममा विविध धार्मिक अनुष्ठानहरुको साथै १०८ नर्मदेश्वर शिवलिंग सहित शिवपन्चायन भगवानको प्राण प्रतिष्ठा एवंम् नवनिर्मित विशाल शिव मन्दिर र धर्मशालाको समुद्घाटनको कार्यक्रम समेत रहेको आज नारायणगढमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

सो महायज्ञमा अतिरुद्री, लक्ष्यहवन, १०८ श्रीमद्भागवत महापुराण, शिवपुराण लगायत ठुलो अनुष्ठानको आयोजना गर्न लागिएको महायज्ञ आयोजक मूल समितिका महासचिव डा. गुरुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलन भएको रकम गलेश्वर आश्रमले निर्दिष्ट गरेका वेद वेदाड्ड विद्यालयको स्तरोन्नति, स्थायी अन्न क्षेत्रको सुदृढिकरण, अति बृद्ध बृद्धाहरुको सेवा केन्द्र स्थापना, देवघाटधाम धर्मार्थ अस्पतालको सेवा विस्तार र नवनिर्मित शिवालय मन्दिरको नित्य पुजा गर्न कोषको स्थापना गर्ने कार्यको लागि आश्रमलाई हस्तानान्तरण गरीने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

Promise Education Consultancy