वयस्क भाले गैंडा मृत फेला

आनन्द पोखरेल
चितवन, ०१ पुस । चितवन राष्ट्रिय निकुञ्जको मेघौली क्षेत्रमा वयस्क गैंडा मृत फेला परेको छ । शनिबार बिहान चार बजेतिर मेघौलीघाटदेखि करिब पाँच सय मिटर दक्षीणतर्फ राप्ती नदीमा मृत फेला परेको हो ।
करिब २५ वर्ष उमेरको भाले गैंडा कालगतिले मरेको चितवन राष्ट्रिय निकुञ्जका रेन्जर छत्र खड्काले जानकारी दिए । उक्त क्षेत्रमा घुम्नका लागि पुगेका विदेशी पर्यटकले मृत गैंडा देखेर निकुञ्जलाई खबर गरेपछि मृत गैंडाको बारेमा जानकारी भएको खड्काले बताए । राप्ती नदीको पानीमा नै मृत अवस्थामा गैंडा फेला परेको तथा उसको खाग र खुर सुरक्षित रहेको खड्काको भनाइ छ । दुई वटा गैंडाहरु एक आपसमा जुध्दा उक्त गैंडाको मृत्यु भएको हुनसक्ने निकुञ्जले जनाएको छ ।
उक्त मृत गैंडाको मुचुल्का खडा गरेर खाग र खुर निकालेर चितवन राष्ट्रिय निकुञ्जमा लगेर पुरिएको छ । राष्ट्रिय गैंडा गणना २०१५ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय पाँच वटा गैंडा रहेका थिए । गैंडा गणना पश्चात, प्राकृतिक विपत्ती, कालगति र चोरी शिकारीका कारण ३० वटा जति गैंडा मरेका निकुञ्जले जनाएको छ ।

Promise Education Consultancy