भारतबाट आयो यस्तो चेतानी, वीरगञ्ज–रक्सौल नाका फेरी बन्द गर्ने

पुस १, वीरगञ्ज । सीमावर्ती भारतीय शहर रक्सौलका बासिन्दाले वीरगञ्ज–रक्सौल नाका बन्द गर्ने चेतावनी दिएका छन् । भारतीय रेलवेले नेपालका लागि आउने क्लिङ्कर र अन्य डस्टी कार्गो रक्सौलमा अव्यवस्थित रुपमा लोडअनलोड गरेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका हुन् । चरणबद्ध आन्दोलन गर्दै आएका रक्सौलबासीले यही डिसेम्बर २५ (पुस १०) देखि नाका ठप्प पार्ने घोषणा गरेपछि स्वदेशी आयातकर्ता चिन्तित देखिएका छन् ।अभियान डटकममा खबर छ ।

रेलवे यार्डमा अनलोड गरिने डस्टी कार्गोका कारण वायु प्रदुषण बढेको भन्दै उनीहरूले रक्सौलबाट लोडअनलोड अन्यत्र सार्न माग गरेका छन् । सङ्घर्ष समिति बनाएर गत सोमवारदेखि रक्सौल बजारमा प्रदर्शन गर्दैआएकामा २४ तारिखसम्म माग पूरा नभए त्यसको भोलिपल्टदेखि नेपालतर्फको आवागमन ठप्प हुने गरी धर्ना दिने बताएका छन् । यो नाकाबाट क्लिङ्कर, कोइला, फ्लाइयास, जिप्सम, स्ल्याग, आइरनओरलगायतका औद्योगिक कच्चा पदार्थ नेपाल भित्रिने गरेका छन् ।

ठूलो परिमाणमा आयात हुने क्लिङ्करको धुलोले मानव स्वास्थ्यमा गम्भीर समस्या पारेको भन्दै रक्सौलका बासिन्दाले विगत १० वर्षदेखि विरोध गर्दै आए पनि रेलवेले अहिलेसम्म उचित निकास दिन सकेको छैन । यसबाट स्वदेशी उद्योगले कच्चा पदार्थको आयातमा समस्या झेल्दै आउनु परेको छ ।
बारा र पर्साका १३ ओटा सिमेण्ट उद्योगले यही नाकाबाट कच्चा पदार्थ क्लिङ्कर भित्र्याउँछन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव एवम् आयातकर्ता माधव राजपालले रक्सौलका बासिन्दाले मुख्य नाका बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताए । ‘अहिले रक्सौमा विरोध, जागरण र खबरदारी सभाजस्ता प्रदर्शन भइरहेका छन्,’ राजपालले भने, ‘नाका नै बन्द भएमा औद्योगिक कच्चा पदार्थ र अन्य दैनिक उपभोग्य वस्तुको आयात ठप्प हुन्छ ।’ सङ्घका सचिव राजपाल भारतीय रेलवे र त्यहाँका बासिन्दाबीचको समस्यामा स्वदेशी आयातकर्ता पीडित हुँदै आएको बताउँछन् । ‘यो समस्या रेलवेको भएकाले उसले तत्काल समाधान निकाल्नु पर्छ । उनीहरूको व्यवसाय र बासिन्दाको लडाईंको चेपुवामा हामी पर्नु दुःखद विषय हो,’ उनले भने ।

कूल वैदेशिक व्यापारमध्ये ५० प्रतिशतभन्दा बढी आयात हुने नाका बन्द भएपछि औद्योगिक कच्चा पदार्थसँगै आपूर्ति व्यवस्थापन नै खल्बलिने आयातकर्ताको भनाइ छ । पेट्रोलियम पदार्थको अधिकांश परिमाण यही नाकाबाट भित्रिन्छ ।

रक्सौलका बासिन्दाले यार्ड स्थानान्तरणको माग गर्दै न्यायालयसम्म पुर्याइएको मुद्दामा त्यहाँको अदालतले यार्ड अन्तै सार्न आदेश दिइसकेको छ । रेलवेले रक्सौलबाट करीब १८ किलोमीटर दक्षिणमा पर्ने रामगढवामा यार्ड निर्माणको प्रक्रिया अघि बढाएको छ । निर्माणमा विलम्व भएपछि रक्सौलका बासिन्दा अहिले फेरि आन्दोलनमा उत्रिएका हुन् । विगतमा समेत यस्ता आन्दोलन भएका थिए । गतवर्ष मङ्सिरमै रक्सौलबासीले नेपालतर्फको आवागमन अवरुद्ध पारेका थिए । त्यसबेला रक्सौल प्रशासनको चेतावनीपछि प्रदर्शनकारी पछि हटेका थिए ।

रेलवेले रामगढवामा बनाइरहेको यार्डमा झनै समस्या हुनसक्ने आशङ्का आयातकर्ताको छ । वीरगञ्जबाट नजिकै रहेको रक्सौलबाट मालसामान भित्र्याउनै कठिनाइ भइरहेकोमा १८ किलोमीटरको दुरीले आयात झनै समस्याग्रस्त हुने दाबी उनीहरूको छ । ‘रामगढवाका बासिन्दाले पनि प्रदुषणको विरोध गर्न सक्ने सम्भावना नभएको होइन,’ आयातकर्ताले भने ।

स्टार सिमेण्ट उद्योगका सञ्चालक राजेश क्याल समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने बताउँछन् । सञ्चालक क्याल वीरगञ्ज सुक्खा बन्दरगाहसम्म रेलसेवा आइपुगेकाले रक्सौलको सट्टा वीरगञ्जमै अनलोडको व्यवस्था मिलाउन सुझाव दिन्छन् । ‘रेलवेलाई पथलैयासम्म विस्तार गरी पायकपर्ने ठाउँमा अनलोड गर्न सकिन्छ । यसो गर्दा इन्धन र अन्य औद्योगिक कच्चा पदार्थको आयातसमेत सहज हुन सक्छ,’ क्यालको भनाइ छ ।

आयातकर्ताले यो समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराइसकेका छन् । नेपाल शालिमार समेण्ट प्रालिका सञ्चालक अशोककुमार वैद्य सरकारले समस्याको निकासमा प्रभावकारी पहल नगरेको आरोप लगाउँछन् । वर्षौदेखि भोग्दै आएको समस्यामा सरकार गम्भीर नबनेको उनको भनाइ छ ।