चिनियाँ खानेतेलको खरिदकर्ता नभेटिएपछि…..

काठमाडौँ , १ पुष । चीन सरकारले अनुदानमा उपलब्ध गराएको खानेतेल गुणस्तरहीन भेटिएपछि खाद्य संस्थानले टेन्डर खरिद गर्ने खरिदकर्तासम्म भेटेको छैन । गुणस्तरहीन ठहरिएको उक्त तेल टेन्डरमार्फत बिक्री गर्न हालसम्म एकजना पनि खरिदकर्ता आएका छैनन् ।

तेल मानव स्वास्थ्यका लागि हानिकारक भएको पुष्टि भएपछि खाद्य संस्थानले करिब दुई वर्षसम्म कुन प्रयोजनमा प्रयोग गर्ने भनेर लामो समयसम्म आपूर्ति मन्त्रालयको सहमति कुर्नुपरेको थियो । संस्थान स्रोतकाअनुसार चीनले अनुदानमा उपलब्ध गराएको खानेतेल गुणस्तरहीन भेटिएको र उक्त तेल नष्ट गर्दा मित्रराष्ट्रमा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालयका अधिकारीले आधिकारिक रूपमा निर्णय गर्न नसक्दा लामो समयसम्म तेल तेत्तिकै थन्किएको थियो ।आजको अन्नपुर्णपोष्टमा खबर छ।

‘लामो समयको प्रतिक्षापछि मन्त्रालयले सहमति दिएपछि हामीले गत वर्ष उक्त खानेतेल बिक्री गर्न टेन्डर आह्वान गरेका थियौं’, खाद्य संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले भने । उनकाअनुसार चालू आर्थिक वर्षमा खानेतेल बिक्री गर्न दुई पटकसम्म बोलपत्र आह्वान गर्दा पनि उक्त तेल खरिद गर्न एकजना पनि खरिदकर्ता टेन्डर प्रक्रियामा सहभागी हुन आएनन् । संस्थानकाअनुसार चालू आर्थिक वर्षको साउनमा दुई पटक बोलपत्र आह्वान गरिएको थियो । प्रतिलिटर ८० रुपैयाँ न्यूनतम मूल्य राखेर संस्थानले उक्त तेल टेन्डरमार्फत बिक्री गर्न खोजेको थियो ।

‘तर ती दुवै पटक गरिएको टेन्डरमा एकजना पनि सहभागी हुन आएनन्,’ खनालले भने, ‘तेलको न्यूनतम मूल्य घटाएर फेरि तेस्रो पटक बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाएका छौं ।’

Promise Education Consultancy