उवासंघ–चितवन निर्वाचन त्रिपक्षीय भिडन्त

भरतपुर,२९ मंसिर ।चितवनमा उद्योगी व्यवसायीलाई चुनावको चटारो फेरि सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको माहोल सेलाउन नपाउँदै उद्योगी व्यवसायीलाई चुनावी गर्मीले छोएको छ ।
आगामी पुस २९ गते संघको ५१ औं साधारणसभा तथा ३५ औं अधिवेशन हुँदैछ । अधिवेशनले ३ मनोनितसहित २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । “संघको छवि कायम गर्ने नेतृत्वको खोजीमा हामी छौँ”, उद्योग वाणिज्य संघ–चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले भने, “विगतमा रोलक्रमकै आधारमा टिम खडा हुने संस्कार थियो, यसपालि त्यस्तो हुँदैन, योग्य सबै उम्मेदवारका हुन पाउँछन्, व्यवसायीले पत्याउने नेतृत्व हुनुपर्छ ।”
संघका अध्यक्ष पदका आकांक्षीहरु ‘प्यानल’ बनाउन आन्तरिक तयारीमा जुटेका छन् । वस्तुगत संघ, क्षेत्रीय संघ, बजार क्षेत्रका व्यवसायीबीचको अन्तरक्रिया तथा छलफलमा लागिपरेका छन् । अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, हालका तृतीय उपाध्यक्ष विष्णुप्रसाद कँडेल र पूर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान आकांक्षी देखिएका छन् । तीनै जना आ–आफ्नो प्यानल बनाउन लागिपरेका छन् । संघमा हाल ३ हजार ३ सय ३४ जना सदस्य छन् । माडी उद्योग वाणिज्य संघमा १ सय ६४ जना, इच्छाकामना उद्योग वाणिज्य संघमा ८० जना सदस्य छन् । ३० वटा वस्तुगत र २ वटा उपसमिति छन् ।

श्रेष्ठ रोलक्रम र संघमा क्रियाशीलताका आधारमा आफ्नो नेतृत्वको विकल्प नरहेको दावी गर्छन् । कँडेल संघको छवि सुधार्न काम गर्ने व्यक्तिका रुपमा आफ्नै नेतृत्व आवश्यक रहेको जिकिर गर्छन् । प्रधान संघमा विगतमा आफूले गरेका योगदानकै आधारमा नेतृत्वको दावी गरेको बताउँछन् । वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले संस्थापन प्यानलै बनाएर उम्मेदवारी दिइने तयारी रहेको बताउँछन् । “२ वर्ष अघिको चुनावबाहेक वरिष्ठ उपाध्यक्ष हारेका इतिहास छैन, अध्यक्षमा हारेर फेरि अध्यक्ष पदमै उम्मेदवारी दिन आएको इतिहास पनि छैन”, उनले भने, “धेरै वस्तुगत समितिले मेरै नेतृत्वमा जानुपर्छ भनेर निर्णय पनि गरिसकेको अवस्था छ, मेरो नेतृत्व व्यवसायीले खोजिरहेका छन् ।”
उनी २०६४ सालमा उवासंघको पहिलो पटक कार्यसमिति सदस्य बनेका थिए । तृतीय उपाध्यक्ष हुँदै उनी हाल वरिष्ठ उपाध्यक्षका रुपमा छन् । “लायन्सचोकको सब्जिमण्डीमा व्यवसायीलाई मर्का पर्दा होस्, लक्ष्मीनारायण वस्त्रालयलाई करछलिको आरोप लाग्दा होस्, व्यवसायीको पक्षमा आवाज उठाउने काम मेरै अगुवाइमा भएको थियो”, उनले भने, “क्षेत्रीय संगठन विस्तार, सदस्यता विस्तारमा मेरो भूमिका धेरै नियालिरहेका छन्, त्यसैले अध्यक्ष पदका लागि उम्मेदवारी दिन लागेको हुँ ।” उनी होटल व्यवसायी हुन् । होटल ग्राण्ड भ्यू, नेशनल सिटी अस्पतालका सञ्चालक हुन् । “उवासंघ छाडेर म नेतृत्व खोज्ने व्यक्ति होइन”, उनले भने, “कार्यसमितिले निर्णय गरेरै आफ्नै नेतृत्वमा उम्मेदवारको सूची बनाउनेछ, सोहीअनुसार हामी आन्तरिक छलफलमा लागेका छौँ ।”
उनले हालकै कार्यसमितिबाटै पदाधिकारीसहितको नयाँ टिम बनाएर चुनावी मैदानमा जाने बताए । उनी २०७२ सालमा सहन प्रधान नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पद जितेका हुन् । यसपालि सहन प्रधान पनि चुनावी मैदानमा आउने तयारी गरेका छन् । २०६२ सालमा संघको कार्यसमिति सदस्य बनेका प्रधान दुईपटक तृतीय उपाध्यक्ष, एकपटक प्रथम उपाध्यक्ष बनेका थिए । “हालकै कार्यसमिति र पुराना कार्यसमिति सदस्यभित्रै अगुवासहितको प्यानल बनाउन लागेको छु”, प्रधानले भने, “प्राविधिक कारणले विगतको चुनाव हारें, यसपालि जनसम्पर्क बढेको छ, व्यवसायीको साथ छ, जित्नेमा आशावादी छु ।” उनले १० दिनभित्र उम्मेदवारको समूह बनिसक्ने उनले बताए ।
“हालका वरिष्ठ उपाध्यक्ष विगतमा मेरै नेतृत्वमा चुनाव जितेका हुन्, यसपालि सहयोग गर्नुप¥यो भनेको छु”, उनले भने, “धेरैपटक वार्ता पनि भए, उहाँ सकारात्मक हुनुभएन । तर, हालको कार्यसमितिकै धेरै मेरै पक्षमा हुनुहुन्छ ।” उनी संगीतकार तथा गायक र चितवनको पहिलो रेडियो सिनर्जी एफएमका प्रबन्ध निर्देशक हुन् । भरतपुर गार्डेन रिसोर्ट, नेशनल सिटी अस्पतालका सञ्चालक पनि हुन् । उनी भरतपुरमा होटल सिराईचुलीसमेत सञ्चालन गर्ने तयारीमा छन् ।
अर्का आकांक्षी विष्णुप्रसाद कँडेल सुधारवादी पक्षको समूहको नेतृत्वकर्ताका रुपमा उम्मेदवारी दिन लागेको बताउँछन् । उनी १८ वर्षदेखि सञ्जु एयर कण्डिसन एण्ड रेफ्रीजेरेसन सञ्चालन गर्दै आएका छन् । सञ्जु इलेक्ट्रोनिक्स, सञ्जु सर्भिस सेन्टर, सञ्जु टे«डर्स, विदेशबाट एसी आयात गरी नेपालभरि निर्यात गर्ने सञ्जु ग्रुपका सञ्चालक हुन् । उनी संघको २ कार्यकाल उपसमितिको नेतृत्वमा थिए भने २ कार्यकाल कार्यसमिति सदस्य भइसकेका छन् । “गत निर्वाचनबाट रोलक्रममा नेतृत्वमा जाने चलन तोडिएको छ”, उनले भने, “रोलक्रम होइन, सक्रिय र नेतृत्वदायी व्यक्तिकै पक्षमा व्यवसायी छन् ।”
उनले आफ्नै पहलमा ५ वटा थप वस्तुगत संघलाई आबद्ध गराइएको दावी गर्छन् । “वस्तुगत संघलाई उवासंघै बराबरको अधिकार प्रत्योजन गर्नुपर्छ भन्ने मेरो मुख्य एजेण्डा हो”, उनले भने, “अनुभवी व्यक्ति नै समेटेर प्यानल बनाउनेछु, अध्यक्षबाट म ‘ब्याक’ हुनेछैन, सबैसँग सहकार्य हुन्छ ।” विगतमा श्रेष्ठ र प्रधान विपरीत प्यानलबाट अध्यक्ष बनेका गौतमले समर्थन गर्ने पक्ष नै बलियो हुने आँकलन गरिएको छ । गौतम सर्वसम्मत अध्यक्ष बन्ने अवस्था आएमा नेतृत्व लिन तयार रहेको बताउँछन् । तर, उनी आफ्नै प्यानल बनाएर चुनावी मैदाना नजाने बताए । गौतमको कार्यकालमा संघले केन्द्रीय तहमा आफ्नो नेतृत्व लिन सफल भएको छ । गौतम उद्योग वाणिज्य संघ प्रदेश नम्बर ३ को जिल्ला नगर उपाध्यक्ष हुन् । यस्तै संघको केन्द्रीय सदस्यमा पूर्वअध्यक्ष कल्याण जोशी र तिलचन्द्र भट्टराई बनेका छन् । “प्यानल बनाएर चुनाव लड्ने भन्दा सहमतिमै कार्यसमिति बनाउने मेरो चाहना हो”, अध्यक्ष गौतमले भने, “हदैसम्मको प्रयास जारी रहन्छ, सहमति नभए प्रतिस्पर्धा हुन्छ ।” संघको कार्यसमितिको पदाधिकारी पदमा उम्मेदवार हुन कम्तीमा एक कार्यकाल कार्यसमितिमा काम गरेको हुनुपर्ने प्रावधान छ ।  आजको कायाकैरन दैनिकमा खब र छ।

Promise Education Consultancy