तलबभत्ता कम दिएको भन्दै म्यादी प्रहरीले गरे चक्काजाम

पर्सा, २८ मंसिर । म्यादी प्रहरी आन्दोलित भएका छन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि भर्ना भएका म्यादी प्रहरीहरु सरकारले तोकेजति तलब–भता नपाएको भन्दै आन्दोलित भएका हुन्।
तलब भत्ता कम भएको भन्दै म्यादी प्रहरीहरुले वीरगञ्जको घण्टाघरमा बिहीबार दिउँसो चक्काजामसमेत गरे।

आगामी पुस ७ गतेसम्मका लागि भन्दै ५५ दिनको लागि नियुक्त भएका म्यादी प्रहरीलाई सरकारले समय आगावै बिहीबारदेखि विदा दिएको र तलब पनि कम दिइएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन्।

उनीहरुले ५५ दिनका लागि आफुहरु नियुक्त भएको बताउदै ६१ हजार रुपैयाँ पाउनुपर्नेमा ४५ हजार रुपैयाँ मात्र दिएको बताएका छन्। तलब भत्ता कम भएको विषयमा जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरे पनि प्रहरीले बल प्रयोग गरेर उनीहरलाई त्यहाबाट हटाएपछि म्यादी प्रहरीले वीरगञ्जको मुख्य राजमार्ग घण्टाघर नजिकै सडकमा चक्काजाम गरेका थिए ।

पर्साका प्रमुख प्रहरी उपरिक्षक डा गणेश रेग्मीले सरकारको नियम अनुसार नै म्यादी प्रहरीलाई तलब भत्ता दिइएको बताए। ५५ दिनको लागि नियुक्त गरिए पनि निर्वाचन सकिएकाले गृह मन्त्रालयको आदेश अनुसार ४५ दिनको तलब भत्ताबापत ४८ हजार रुपैयाँ दिएर विदाइ गरिएको रेग्मीले बताए ।

Promise Education Consultancy