सबैलाई मिलाएर समृद्ध नेपाल निर्माणमा जुट्छौँ : जनप्रतिनिधि

आनन्द पोखरेल
चितवन, २८ मंसिर । मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोरेका राजनीतिक दललाई समेत लिएर समृद्ध नेपाल निर्माणको लागि अगाडि बढ्ने चितवनका जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले बिहीबार भरतपुरमा आयोजना गरेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना प्रदान कार्यक्रममा बोल्दै चितवनबाट निर्वाचित भएका जनप्रतिनिधिले संविधानको मर्म र भावना अनुसार काम गर्ने बताएका हुन् ।
चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन अगाडि जनताको माझमा राखेका संकल्पहरु पूरा गर्ने प्रतिवता जनाएका छन् । अबको क्रममा राजनीतिक स्थायीत्व पूरा गर्दै आर्थिक समृद्धि तर्फ देशलाई लैजाने घोषणापत्रका कारण जनताले वाम गठबन्धनलाई समर्थन गरेकाले सोही अनुसार काम गर्ने दाहालले बताएका हुन् ।
मतदाता प्रति उच्च भाव राखेर मतदानमा सहभागी आम मतदाताको भावनालाई सदैव साथमा लिएर आफूहरुले गरेको वाचा पूरा गर्ने संकल्प बोकेको चितवन क्षेत्र नम्बर १ का सांसद सुरेन्द्र पाण्डेले बताए । अन्तर्राष्ट्रिय शक्ति पनि वाम गठबन्धनको जितबाट दुखि हुनु नपर्ने भन्दै सबैलाई मिलाएर नेपालको विकासको लागि अगाडि बढ्ने पाण्डेले प्रतिवद्धता जनाएका छन् ।
चितवनको विकास र समृद्धि मार्फत देशलाई नै समृद्धिको बाटोमा लैजान सकिने चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले बताए । चितवनलाई केन्द्रीय राजधानी र प्रदेश राजधानी बनाउन नसकिएपनि सबै कुराबाट राजधानी पछिको दोस्रो शहरको रुपमा विकास गर्ने योजना रहेको पोखरेलको भनाइ छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने पत्रकारका संगठनको तर्फबाट नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले मन्तव्य राखेका थिए ।

Promise Education Consultancy