प्रचण्डले भने–चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माण हुनेछ

चितवन,२८ मंसिर । चितवन क्षेत्र न ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी पूर्वप्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माण गरिने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रचण्डले नेपाल पत्रकार महासंघ चितवन शाखाद्वारा आयोजना गरिएको चितवनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भने चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माणको लागि वातावरण तयार पार्नेछु ।
गृहजिल्ला चितवनबाट पहिलोपटक निर्वाचनमा उम्मेदवार भई विजयी भएका प्रचण्डले यसअघि रोल्पा, काठमाडौँ र सिरहाबाट चुनाव लड्दा आफूलाई चुनाव लडेजस्तै नलागेको प्रतिक्रिया दिए ।
चितवनबाट चुनाव लड्दा बल्ल पहिलोपटक चुनाव लडेको वास्तविक अनुभूति भइरहेको छ, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, यसपटक बल्ल चुनावको तितोमिठो, मर्म र भावना बुझ्ने अवसर पाएँ । उनले विकास र समृद्धिको संकल्पमा आफू दृढतापूर्वक उभिने प्रतिवद्धता जनाए ।
वाम गठबन्धनको अहिलेको जितलाई विश्वले चासोपूर्वक हेरिरहेको उनको भनाइ थियो । कम्युनिष्टले जिते अधिनायकवाद आउँछ भन्नेहरुलाई जवाफ दिँदै प्रचण्डले भने, वामपन्थीहरु बढी लोकतान्त्रिक हुन्छन् भन्ने कुरा आउने दिनमा प्रमाणित गरेर विश्वलाई देखाउनेछौँ ।
राजनीतिक स्थायित्व र आर्थिक विकासको एजेण्डा लिएर वाम गठबन्धन बनाइएको प्रष्ट पार्दै प्रचण्डले जनताले त्यसलाई उत्साहजनक ढंगले अनुमोदन गरेको बताए । नेपालको महारोग भ्रष्टाचारलाई नियन्त्रण गरेर वामपन्थीको सरकारले सुशासन दिने उनको दाबी थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनअपेक्षा अनुसार नै आफूहरुले काम गर्ने बताए ।
चितवनबाट प्रतिनिधि सभाका तीन क्षेत्र र प्रदेश सभाका ६ क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कार्यक्रममा सबै क्षेत्रका विजयी उम्मेदवार उपस्थित थिए ।

चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले जनभावनालाई शिरमा राखेर त्यसलाई पूरा गर्न सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । नेपालको विकासको लागि अन्तर्राष्ट्रिय क्षेत्रको साथ र सहयोग लिइने उनको भनाइ थियो

।चितवन क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी कृष्णभक्त पोखरेलले नवनिर्माण र समृद्धिको युगको आधार अबको पाँच वर्षमा तयार हुने बताए । उनले निर्वाचन गराउन प्रेसले निरन्तर दबाब दिएर साथ दिएको भन्दै धन्यवाद व्यक्त गरे । लोकतन्त्रलाई बलियो बनाउन प्रेससँग साझेदारी अनिवार्य रहेको उनको भनाइ थियो ।