कारागारभित्रै संसर्ग गर्न पाउने,कस्ता कैदीबन्दीले पाउँछन् यस्तो सुविधा

काठमाडौँ, २८ मंसिर ।  सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ ।

कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी बनेको निर्देशिका पास भएपछि मात्रै पाउनेछन् । विभागले निर्देशिकाको खाका तयार गरिसकेको छ । खाकालाई अन्तिम रूप दिएपछि गृह मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पास भएपछि निर्देशिका कार्यान्वयनमा आउनेछ । त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले नै व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउनेछन् । आजको नयाँपत्रिकामा खबर छ ।

निर्देशिका बनेपछि मात्र सुविधा
विभागका महानिर्देशक कृष्णचन्द्र घिमिरेले विभाग कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बनाउने तयारीमा जुटेको बताए । उनका अनुसार अबको तीन महिनाभित्र निर्देशिका तयार हुनेछ । उनले भने, ‘कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका बन्दै छ । अबको तीन महिनाभित्र यो तयार भइसक्नेछ । त्यसपछि मन्त्रालयमा पेस हुनेछ । मन्त्रालयबाट पास भएलगत्तै निर्देशिका कार्यान्वयनमा आउनेछ ।

कस्ता कैदीबन्दीले पाउँछन् यस्तो सुविधा ?
विभागका अनुसार यो सुविधा लामो अवधि सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दीको हकमा मात्रै लागू हुनेछ । यसका लागि विवाहित हुनुपर्नेछ । विभागले कारागारभित्रै विशेष कोठाको व्यवस्था गर्नेछ । लामो अवधि कैद–सजाय तोकिएका तर सन्तान नभएका कैदीबन्दी पहिचान गरिनेछ । महिला कैदीबन्दी भए उनका श्रीमान् र पुरुष कैदीबन्दी भए उनकी श्रीमतीलाई सम्पर्कमा ल्याइनेछ । दुवैको चिकित्सकबाट स्वास्थ्य–परीक्षण गराइनेछ । सन्तान उत्पादनका लागि समय निश्चित भएपछि मात्रै उनीहरूलाई संसर्गका लागि भेट गर्न दिइनेछ ।

Promise Education Consultancy