२० करोडको लागतमा मितेरी पुल निर्माण सुरु

आनन्द पोखरेल
चितवन, २६ मंसिर । तनहूँ र नवलपरासी जोड्न कालीगण्डकी नदीमाथि पक्की पुल निर्माणको काम सुरु भएको छ । तनहूँको देवघाट गाउँपालिका वडा नम्बर ५ देउपुर र नवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर ३ हर्दी जोड्ने मितेरी पुल निर्माणको काम सुरु भएको हो ।
करिब २० करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएर निर्माण सुरु भएको पुल आगामी २०७६ सालको असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने तयारी भइरहेको छ । पुल निर्माणपछि तनहूँको देवघाट हुँदै नवलपरासीको गैंडाकोट निस्कनको लागि सहज हुने र उक्त सडक कालीगण्डकी करिडोरको रुपमा विकास भइरहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
पुल निर्माण पश्चात पूर्व पश्चिम राजमार्ग हुँदै काठमाडौँ जाने यातायात उक्त सडक प्रयोग गरेर चितवनको दासढुंगामा निस्कदा सहज हुने समेत पौडेलको भनाइ छ । चितवनको दासढुंगाबाट नवलपरासीको गैंडाकोट थुम्सीमा निस्कने गरि सडक समेत निर्माणको तयारी भइरहेको पौडेलले बताए ।

Promise Education Consultancy