चितवनमा मिनी म्याराथुन हुने

कुल काफ्ले
चितवन, २६ मंसिर । चितवनमा नै पहिलो पटक १५ किलोमिटरको दूरीमा ‘नेपा रोटा मिनी म्याराथुन प्रतियोगिता’ हुने भएको छ । रोटरी क्लब अफ नारायणगढको आयोजनामा आगामी पुस ३ गते हुन लागेको नेपा रोटा मिनी म्याराथुन प्रतियोगितामा देशभरीबाट डेढ सय भन्दा बढी धावकहरुको सहभागिता रहने मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
प्रतियोगितामा रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरी र मिस नेपाल २०१६ अस्मी श्रेष्ठको समेत उपस्थिति रहने आयोजकले जनाएको छ । खेलकुदमा युवा सहभागिताका लागि क्लबले ‘रन फर हेल्थ एण्ड पिस’ भन्ने नारा सहित मिनी म्याराथुन प्रतियोगिता गर्न लागेको रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । प्रतियोगिता पुस ३ गते बिहान साढे ७ बजे पूर्वी चितवनको रत्ननगर नगरपालिकाको टाँडी बजारबाट दौड सुरु भएर नारायणगढको लिलाचोकसम्म दौडनुपर्ने प्रधानको भनाइ थियो ।
मिनी म्याराथुनमा पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले १५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा भाग लिनको लागि दर्ता शुल्क दुई सय रुपैयाँ राखिएको छ । मिनी म्याराथुन प्रतियोगिता सम्पन्न गर्न करिब दुई लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान रहेको नेपो रोटा मिनी म्याराथानका संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिए ।
दौडको समयमा ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासन र ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरिने श्रेष्ठको भनाइ छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ११ वटा समिति गठन गरिएको श्रेष्ठको भनाइ छ ।

Promise Education Consultancy