सम्पादकीय: वाम एजेन्डा अनुमोदन

मंसिर १० र २१ मा गरि दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रारम्भिक परिणामअनुसार यसपटक मुलुकमा वाम वर्चस्व स्थापित हुने निश्चित भएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा सहित मुलुकमा स्थिर सरकार बनाउनका लागि मत दिन गरेको आह्वानलाई मतदाताले अनुमोदन गरेका छन् ।
२०४७ मा भएको जनआन्दोलनपछि निरन्तर मुलुकमा देखिएको अस्थिरताबाट वाक्क जनतालाई एमाले–माओवादीको नाराले आकर्षित गरेको देखियो । नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले वामपन्थीको बहुमत भएमा अधिनायकवाद आउँछ भनी गरेको प्रचारबाजीलाई मतदाताले पत्याएको देखिएन ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताले वामपन्थी अधिनायकवादको खतरालाई प्रत्येकजसो भाषणमा उल्लेख गरेका थिए । बामपन्थीले अगाडि सारेको स्थिर सरकार र समृद्धिको नाराले काँग्रेसलाई मतदान गर्दै आएका मतदातालाई समेत आकर्षित गरेको देखियो ।
प्रजातन्त्र पुनस्र्थापना पछिको २५ वर्षमा २७ वटा सरकार बनेको छ । लोकतन्त्र आएपछि मुलुक झन् अस्थिर बनेको, सरकार आउने र जाने क्रमले विकास निर्माणका काम हुन नसकेको अनुभव सबैले गरेका थिए ।
त्यसका अलवा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला भारतीय नाकाबन्दीविरुद्ध देखाएको अडानलाई समेत मतदाताले यसपटक पुरस्कृत गरेका छन् ।
नाकाबन्दीविरुद्ध बोल्न नसक्नेहरुका बारेमा समेत यसपटकको निर्वाचनमा पटकपटक कुरा उठेको देखियो । संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकार थियो । संविधान जारी भएपछि ओलीले सरकारको नेतृत्व लिए त्यसपछि उनकै राष्ट्रवादी अडानका कारण नाकाबन्दी हटेको थियो ।
वाम गठबन्धन र पार्टी एकीकरणको मीठो चाहना आममतदातामा रहेछ भन्ने पनि यो निर्वाचनले देखायो । नेपालमा विगतदेखि नै बलियो वाम मतको उपस्थिति भएपनि मत एकीकृत भएको थिएन ।
सामान्य विषयमा सहजै टुटफुट र विभाजित हुन सक्ने नेपाली वामहरूलाई मिलाउनु अत्यन्त कठिन थियो । आफ्नो दलको लोकप्रियता रहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा सँगै जान तयार पार्नु एमालेका अध्यक्ष केपी ओलीको सफलता मान्नुपर्छ ।
यो निर्वाचनले ओलीलाई एउटा सफल नेताका रूपमा दलभित्र र बाहिर सबैतिर स्थापित गरेको छ । निर्वाचनमा एमाले र माओवादी केन्द्रले सहयात्रामात्र गरेका होइनन्, भोलि दुई दलको पार्टी एकीकरणको भरोसा समेत यी दुई नेता ओली र दाहालले दिएका छन् ।
आममतदाताले यी नेता माथि नै भरोसा गरेको देखियो । अव वामपन्थीले विजयको दम्भ लिएर होईन, सुखद परिणामको विश्वासलाई अगाडि बढाउन सक्दा मात्रै राष्ट्रले समृद्धि प्राप्त गर्न सक्नेछ । अबको राजनीति भनेको समृद्धिको हुनुपर्छ तब मात्रै समृद्ध नेपाल निर्माणको सपना पुरा हुन्छ ।

Promise Education Consultancy