गैडाको खाग घासँ काट्दा भेटेपछि……

प्रमिता ढकाल

चितवन, २५ मंसिर ।  सेतीदेवि सामुदायीक वन भरतपुर १६ शरणपुरमा फेला परेको गैंडाको खाग जिल्ला वन कार्यालय चितवनलाई बुझाइएको छ । हिजो मध्यान्ह करिव ४ः३० बजे वनमा घांस दाउरा संकलनका लागि गएकी वन उपभोक्ता सबिना वस्यालले फेला पारेको सो खाग वनका पदाधिकारीहरुले आज जिल्ला वन कार्यालयलाई हस्तान्तरण गरेकाहुन् । हिजै वन कार्यालयलाई खबर गरी प्राविधकको रोहवरमा शीलबन्दी गरी पठाइएको खाग आज औपचारिक रुपमा हस्तान्तरण गरीएको सेतीदेवि सामुदायीक वनका अध्यक्ष नन्दप्रसाद भट्टले बताए ।

करिव एक डेढ महिना पुरानो देखिने सो खाग सक्कली नै भएको वनको प्राविधिक टोलीले बताएको छ । खाग हेर्दा सक्कली नै देखिएपनि त्यसको मर्फाेलोजिकल अध्ययन पछि मात्र पुष्टी गर्नुपर्ने प्रावधान रहेकाले अब चितवन राष्ट्रिय निकुञ्जलाई बुझाइने जिल्ला वन अधिकृत केदारनाथ पौडेलले बताए ।

सामुदायीक वनका पदाधिकारीले खाग हस्तान्तरण गरेर संरक्षणको पाटोलाई महत्व दिनु निकै महत्वपूर्ण कार्य भएको भन्दै उनले प्रशंसा गरेकाछन् । खागको अवस्था हेर्दा आफै खसेको जस्तो देखिएको वन अधिकृत पौडेलले बताए । एक आपसमा गैंडा जुध्दा पनि खाग खस्न सक्ने उनले जानकारी दिए । खाग विना पनि गैंडा स्वस्थ्य रुपमा केही महिना बांच्न सक्ने भन्दै वनमा रहेका सबै गैंडाको अवस्था अध्ययन गर्न हात्ती सहितको गस्ती टोली परिचालन गरेको समेत उनले बताएकाछन् ।

जिल्ला वन कार्यालयले २०६१÷०६२ मा यो वन समुदायलाई हस्तान्तरण गरेपछि संरक्षणको पाटो थप मजबुद बनेको सेतीदेवि सामुदायीक वनका अध्यक्ष भट्टको दावी छ । सेतीदेवि सामुदायीक वन गैंडाको लागि राम्रो वासस्थानका रुपमा परिचत छ । यहां आठ देखि दश वटा सम्म गैंडा रहेको र अन्य सामुदायीक वनबाट पनि चरिचरणका लागि आउने गरेको भट्टले बताए ।विभिन्न प्रजातीका वन्यजन्तुको राम्रो वासस्थान वन्दै गएपछि संरक्षणका लागि तारजाली तथा विद्युतीय बारको समेत व्यवस्था गरीएको उनले बताए । सो क्षेत्रमा ३ वर्ष यता नेपाली सेनाको वटुक दलले संरक्षण गर्दै आएको छ ।