दिनेशको बधाई भुर्तेललाई

आनन्द पोखरेल
चितवन, २५ मंसिर । केही मन्न बाँकी रहदा नै आफ्ना प्रतिस्पर्धीलाई बधाई दिँदै नेपाली काँग्रेसका प्रदेशसभाका उम्मदेवार दिनेश कोइराला मतगणनास्थलबाट बाहिरिएका छन् । चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा वाम गठबन्धनका उम्मदेवार कृष्ण भुर्तेललाई विजयी भएको भन्दै कोइरालाले उनलाई बधाइ दिएका हुन् ।

चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा क मा करिब तीन हजार मतगणना हुँन बाँकी हुँदा नै दिनेश कोइरालाले आफ्नो हार स्वीकार गर्दै आफ्ना प्रतिस्पर्धीलाई बधाई दिँदै जनताको काममा प्रतिवद्ध रहन आग्रह गरेका छन् । जनताले भुर्तेललाई आफ्ना प्रतिनिधिको रुपमा रोजेकाले जनताको विकासको कामलाई पूर्णता दिनको लागि लाग्न र भुर्तेललाई पर्दा आफूले सहयोग गर्ने समेत जनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार भुर्तेलले २३ हजार चार सय ४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी कोइरालाले २१ हजार तीन सय ६५ मत प्राप्त गरेका छन् ।
चितवनको क्षेत्र नम्बर ३ को प्रदेशसभा ख मा समेत वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनबाट हसिया हथौडा लिएर चुनावमा भाग लिएका रामलाल महतोले २५ हजार ६१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका साजन महतोले १५ हजार नौ सय ४५ मत प्राप्त गरेका छन् । विजयी हुने रामलाल नाताले आफ्नै भाञ्जालाई नौ हजार एक सय १६ मतले पराजित गरेका हुन् ।