चितवनको चार वटा प्रदेशमा वाम उम्मेदवार विजयी

चितवन, २४ मंसिर । चितवनको छ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये चार स्थानमा वाम गठबन्धनका उम्मेदवारले विजय हासिल गरेका छन् । मतगणना भइरहेको बाँकी दुई वटा प्रदेशमा समेत वाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन् ।
चितवन क्षेत्र नम्बर १ अन्तर्गतका दुवै निर्वाचन क्षेत्र र निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका दुवै निर्वाचन क्षेत्रमा वाम उम्मेदवार विजयी भएका हुन् । चितवन क्षेत्र नम्बर १ को प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका दावा दोर्जे लामा विजयी भएका छन् । लामाले काँग्रेसका धनबहादुर गुरुङलाई पराजित गरेका हुन् । लामाले २३ हजार २३ मत प्राप्त गर्दा गुरुङले १५ हजार नौ सय १४ मत मात्रै प्राप्त गरेका थिए ।
विजयी भए पश्चात लामाले प्रतिकृया दिँदै जनताको हरेक कामलाई आफूले सहजताका साथ गर्ने प्रतिवद्धता जनाए । जनताको काममा गुनासो आउन नदिने गरि सुकुम्बासी व्यवस्थापन, पूर्वी चितवनलाई पर्यटकीय क्षेत्र बनाउनको लागि पहल गर्ने लामाको भनाइ छ ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ख मा पनि वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता कृष्ण खनाल २७ हजार दुई सय ३२ मत सहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उत्तम आचार्यले १८ हजार पाँच सय ११ मत मात्रै प्राप्त गरे । विजय भएपश्चात कुराकानी गर्दै खनालले पूर्वी चितवनमा नदी व्यवस्थापनका साथै सबै समस्या समाधान गर्नको लागि सधैँ तत्पर रहने बताए ।
त्यसैगरी, चितवनको क्षेत्र नम्बर २ को दुई वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि वाम उम्मेदवारहरु विजयी भएका छन् । क्षेत्र नम्बर २ को क प्रेदशमा नेकपा माओवादी केन्द्रका नेता घनश्याम दाहाल विजयी भएका छन् । दाहालले नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठलाई चार हजार सात सय १८ मतान्तरले पराजित गरेका हुन् ।
दाहालले २० हजार तीन सय ८१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार छ सय ६३ मत मात्रै प्राप्त गरेका छन् । प्रदेशसभामा निर्वाचीत भएका दाहालले पहाडका बासिन्दाहरुको लागि एकीकृत बस्ती निर्माण गर्दै व्यावसायिक तरकारी खेती तर्फ स्थानीयलाई अग्रसर बनाउने प्रतिवद्धता जनाएका छन् ।
चितवन क्षेत्र नम्बर २ को प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता विजय सुवेदी विजय भएका छन् । सुवेदीले नेपाली काँग्रेसका उम्मेदवार प्रकाश अधिकारीलाई पराजित गरेका हुन् । सुवेदीले २१ हजार पाँच सय ७२ मत प्राप्त गर्दा अधिकारीले १२ हजार छ सय ७० मत मात्रै प्राप्त गरे । सुवेदीले चितवनको विकासका लागि गुरु योजना बनाएर केन्द्र सरकारसँगको सहकार्यमा काम गर्ने बताएका छन् ।

Promise Education Consultancy