चितवन क्षेत्र नम्बर २ मा पोखरेल विजयी

आनन्द पोखरेल
चितवन, २४ मंसिर । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार कृष्णभक्त पोखरेल विजयी हुनुभएको छ । आफ्ना निकटतम प्रतिस्पर्धी वहालवाला शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार तीन सय ५६ मतले पछी पार्दै पोखरेल विजयी हुनुभएको हो ।
नेकपा एमाले चितवनका अध्यक्ष समेत रहनुभएका पोखरेलले ४४ हजार छ सय ७० मत प्राप्त गर्नुभएको छ । पोखरेलका निकटम प्रतिस्पर्धी अधिकारीले भने २७ हजार तीन सय १४ मत मात्रै प्राप्त गर्नुभयो । केही बेर अगाडि चितवन क्षेत्र नम्बर २ को मतगणना सकिएको भएपनि निर्वाचन आयोगले औपचारिकता पुरा गरेर मात्रै पोखरेललाई विजय घोषणा गर्ने तयारी गरेको छ ।
यस बाहेक चितवनको निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना जारी रहेको छ । मतपरिणाम आउन बाँकी चितवनको दुई वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भन्दा धेरै मतको अन्तरले अगाडि रहेका छन् ।
चितवन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेले आफ्ना प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीलाई आठ हजार भन्दा बढी मतान्तरले पछाडि पार्नुभएको छ । पाण्डेले २९ हजार सात सय १७ मत प्राप्त गर्दा बुर्लाकोटीको २१ हजार चार सय २७ मत मात्रै रहेको छ । चितवन क्षेत्र नम्बर १ मा ८९ हजार सात सय ४६ मत खसेको थियो ।
त्यस्तै, चितवन क्षेत्र नम्बर ३ सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । चितवन क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफ्ना प्रतिस्पर्धी वहालवाला वन तथा भूसंरक्षण मन्त्री एवम् राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डे भन्दा पाँच हजार भन्दा बढी मतान्तरले अगाडि हुनुहुन्छ । दाहालले २२ हजार दुई सय तीन मत प्राप्त गर्दा पाण्डेले १७ हजार एक सय ५८ मत पाउनुभएको छ । ९३ हजार आठ सय २६ मत खसेको क्षेत्र नम्बर ३ मा ५० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको छ ।

Promise Education Consultancy