पाटन जेसीजको अध्यक्षमा नारायणगढका सुमन

चितवन, २४ मंसिर । नेपालको सबैभन्दा पुराना जेसीजको रुपमा स्थापना भएको पाटन जेसीजको ३१औँ शाखा अधिवेशन तथा ४७औँ वार्षिक साधारणसभाबाट वर्ष २०१८ का लागि सुमन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पाटन जेसीजको ३१औँ अधिवेशनले वर्ष २०१८ को निम्ति नारायणगढका श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा मिजास चित्रकार, उपाध्यक्षहरुमा इनिलज श्रेष्ठ, रोजिना थापा, रोनिस पराजुली र रेगन महर्जन निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, नव निर्वाचित अध्यक्ष श्रेष्ठले जेसीजको महासचिवमा डेजी नापीत, कोषाध्यक्षमा प्रकृति जोशी, सहसचिवमा विपिन बज्राचार्य र कानुनी सल्लाहकारमा निकेनमान प्रधानलाई मनोनित गरेका छन् । वर्ष २०१७ अध्यक्ष श्रीजेश शिल्पकारको अध्यक्षतामा सम्पन्न साधारणसभामा नयाँ कार्य समिति निर्वाचनको लागि प्रमुख निर्वाचन आयुक्त पूर्व अध्यक्ष राकेशभक्त मुल्मी रहेका थिए ।

अधिवेशनका क्रममा जेसीआई सिनेटर जयदेव वैद्यले जेसीजहरूले समाजको रुपान्तरणको लागि अझै लाग्नुपर्ने बताए । पाटन जेसीज नेपालकै पुरानो जेसीज भएको कारणले उक्त जेसीजले राष्ट्रिय मुद्दाहरूमा समेत काम गर्नु पर्ने वैद्यले बताए । पाटन जेसीजको वर्ष २०१८ का लागि निर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पाटन जेसीज अझै सशक्त भई अगाडि बढ्ने बताए । पाटन जेसीजको संगठनलाई अझै मजबुत बनाइ आर्थिक रुपले बलियो बनाउने श्रेष्ठको प्रतिवद्धता थियो । विभिन्न तालिमहरू मार्फत् संगठनका सदस्यहरूलाई व्यक्तित्व र नेतृत्व विकासको लागि तयार पार्ने श्रेष्ठको भनाइ थियो ।

Promise Education Consultancy