चितवनका सबै प्रदेशसभामा वाम अगाडि

आनन्द पोखरेल
चितवन, २४ मंसिर । छ वटा प्रदेशसभाको निर्वाचन क्षेत्र भएको चितवनको सबै प्रदेशमा वाम गठबन्धनका उम्मेदवारहरु एक हजार भन्दा बढी मतान्तरले अगाडि रहेका छन् । चितवनको क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण भुर्तेल केही मतले पछाडि रहेका भएपनि शनिबार साँझदेखि उहाँले आफ्नो अग्रतालाई बढाउँदै लैजानुभएको छ ।
चितवन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा वाम गठबन्धनका कृष्ण भुर्तेलले १३ हजार ५८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिनेश कोइरालाले ११ हजार नौ सय ३३ मत प्राप्त गर्नुभएको छ । प्रदेश २ मा वाम गठबन्धनका उम्मेदवार रामलाल महतोले १४ हजार ७७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार साजन महतोले आठ हजार चार सय १४ मत मात्रै प्राप्त गर्नुभएको छ ।
चितवन क्षेत्र नम्बर २ को प्रदेशसभामा पनि वाम गठबन्धनका उम्मेदवारहरु अगाडि रहेका छन् । प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार घनश्याम दाहालले १६ हजार सात सय चार मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले १२ हजार चार सय ४० मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा २ मा वाम गठबन्धनका उम्मेदवार कृष्ण खनालले २० हजार तीन सय ५७ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उत्तम आचार्यले १४ हजार एक सय ६८ प्राप्त गर्नुभएको छ ।
चितवन क्षेत्र नम्बर १ को प्रदेशसभा पनि वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार दावादोर्जे लामाले १७ हजार छ सय ८७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी धनबहादुर गुरुङले १२ हजार चार सय २७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै प्रदेशसभा २ मा कृष्ण खनालले २० हजार तीन सय ५७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी उत्तम आचार्यले १४ हजार एक सय ६८ मत प्राप्त गर्नुभएको छ ।
चितवन क्षेत्र नम्बर २ का दुवै प्रदेशको अन्तिम मत परिणाम आज दिउँसो २ बजेसम्म सार्वजनिक गर्ने गरि मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले बताउनुभएको छ । दुवै प्रदेशसभामा ३५ हजारको हाराहारीमा मत खसेकोमा ८० प्रतिशत भन्दा बढी मतगणना भइसकेको शर्माले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा तर्फ चितवनको निर्वाचन क्षेत्र नम्बर १ मा ८९ हजार सात सय ४८, क्षेत्र नम्बर २ मा ७७ हजार चार सय ७६ र क्षेत्र नम्बर ३ मा ९३ हजार आठ सय २६ मत खसेको थियो ।

Promise Education Consultancy