चितवनको सबै क्षेत्रमा वाम अगाडि

आनन्द पोखरेल
चितवन, २४ मंसिर । चितवनका तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभामा वाम गठबन्धनले आफ्नो अग्रता कायम गरेका छन् । शुक्रबार दिउँसोदेखि सुरु भएको मतगणनाको सुरुआति अवस्थामा चितवन क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक गठबन्धनका उम्मदेवार विक्रम पाण्डेले अग्रता लिएको भएपनि साँझदेखि वाम उम्मेदवारले आफ्नो अग्रतालाई कायम राखेका छन् ।
त्यस्तै, प्रदेशसभा सदस्यमा पनि चितवन क्षेत्र नम्बर ३ को क मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आफ्नो अग्रता लिएको भएपनि शनिबार साँझबाट वाम उम्मेदवारले आफ्नो अग्रतालाई पुनः कायम राखेका छन् । चितवनको पछिल्लो मतगणना अनुसार चितवन क्षेत्र नम्बर १ मा एमाले स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डे, क्षेत्र नम्बर २ मा पूर्व सांसद कृष्णभक्त पोखरेल, चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अगाडि रहेका छन् ।
चितवनको पछिल्लो चितवन अपटेड अनुसार चितवन क्षेत्र नम्बर १ प्रतिनिधिसभा तर्फ नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले १६ हजार एक सय ६१ मत प्राप्त गर्नुभएको छ । पाण्डेका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले ११ हजार आठ सय ३४ मत प्राप्त गर्नुभएको छ । विक्रम सम्वत् २०७० मा भएको संविधानसभा निर्वाचनमा सुरेन्द्र पाण्डेसँग राजेन्द्र बुर्लाकोटी पराजित हुनुभएको थियो ।
त्यस्तै, चितवन क्षेत्र नम्बर २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका पूर्व सांसद कृष्णभक्त पोखरेलले आफ्नो अग्रतालाई कायम राख्नुभएको छ । पोखरेलले १९ हजार सात सय ५४ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार वहालवाला शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले १२ हजार सात सय १७ मत प्राप्त गर्नुभएको छ ।
चितवन क्षेत्र नम्बर तीन, जुन सर्वाधिक चर्चाको विषयमा रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष एवम् वहालवाला वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डे चुनावी प्रतिस्पर्धामा रहेका कारण पनि सर्वाधिक चर्चामा रहेको हो । पछिल्लो अपडेट अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहालले १४ हजार पाँच सय ८९ मत प्राप्त गर्दा बहालवाला मन्त्री १० हजार दुई सय ४० मत प्राप्त गर्नुभएको छ ।

Promise Education Consultancy