बाबुरामलाई नारायणकाजीको बधाई

गोरखा, २३ मंसिर  ।  गोरखा २ मा डां बाबुराम भट्टराईको विजय सुनिश्चित भएपछि प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठले उनलाई बधाइ दिँदै पराजय स्वीकार गरेका छन्। नारायणकाजीले ट्विटरमार्फत् ‘मतदाताको निर्णयलाई शीरोधार्य गर्दै’ बाबुरामलाई बधाइ दिएका हुन्।
नारायणकाजीले टेलिफोन गरेर पनि आफ्ना पूर्व सहकर्मी बाबुरामलाई बधाइ दिएका छन्। उनले आफूलाई समर्थन र सहयोग गर्ने मतदाता, वाम गठबन्धनका नेता कार्यकर्ता, आफन्तजन र शुभेच्छुकप्रति पनि आभार तथा धन्यवाद व्यक्त गरेका छन्। नारायणकाजीले आफू व्यक्तिगत रुपमा पराजित भए पनि वाम गठबन्धनको शानदार विजयबाट अत्यन्त खुसी रहेको पनि बताएका छन्। गोरखा २ को मतगणना कार्य अन्तिम चरणमा पुगेको छ। त्यहाँ बाबुराम झण्डै ५ हजार मतले नारायणकाजीभन्दा अगाडि छन्।
नारायणकाजीले ‘निर्वाचन परिणाम जेजस्तो भए पनि आफू देश, जनता, सत्य र न्यायप्रतिको निष्ठामा अविचलित हुने बताएका छन्। उनले आफू गोरखाका जनताको सेवामा समर्पित हुने पनि बताएका छन्।

Promise Education Consultancy